Home» City Life »Updates

तेलको संकट र नयाँ बाटा



- अच्युत कोइराला
तेलको बजार मूल्य बढेको बढ्यै छ । अहिले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल 98 डलर छ र यो केही महिनाभित्र १०० डलर प्रति ब्यारेल पुग्ने अनुमान गरिएको छ । केही व्यक्तिहरु के भन्छन् भने तेलको मूल्य सोचेभन्दा सस्तो छ । र, यूरोपका कतिपय ठाउँमा पानीभन्दा तेल सस्तो छ ।

पछिल्लो समय तेलको मूल्य बढ्नुमा भारत र चीनको द्रूत आर्थिक विकासलाई कारण मानिदै आएको छ र यो सत्य पनि हो । चीनमा बढ्दो आर्थिक विकासले निजी कार प्रतिको मोह झनै बढाइदिएको छ । फराकिला सडकले पनि चिनियाँहरु साइकल छोडी कार चढ्ने मोह बढाएको हो । एक विद्वानले त केसम्म भनेका छन् भने यदि चीनमा अस्थिरता बढाउनु छ भने तेलको अभाव सिर्जना गर्नुपर्छ । अबका केही वर्षमा चीनमा तेलको अभाव हुनु भनेको कुनै बम विष्फोटको प्रभाव जत्तिकै चर्को मूल्य भोग्नुपर्ने स्थिति हो ।

भारतमा पनि बढ्दो आर्थिक क्रान्तिसँगै तेलको उच्चतम माग हुने कुरामा अब कुनै शंका छैन । अझ केही समयअघि टाटा कम्पनीले भारतीय १ लाख रुपियाँमा कारको उत्पादन गर्ने महत्वाकांक्षी योजना शुरु गरेपछि त मध्यम वर्गीय एउटा ठूलो समूहको कार चढ्ने लालसा लगभग त्यसले पूरा गराउने छ । त्यसपछि अहिलेको भन्दा तेब्बर बढी तेलको माग हुनेछ । यस्तो अवस्थामा चीन र भारतमा हुने उच्चतम तेलको मागले विश्व तेल उद्योगमा तेलको भाउ बढाउन मद्दत गराउने छ ।

चीनले त आफ्नो देशमा बढ्दो तेलको मागलाई पूरा गराउन केही समयअघि अफ्रिकी मुलुकको भ्रमण गरी ठाउँ सुरक्षित गर्ने बाटो खोजिसकेको छ । भारतले पनि यो बाटो अवलम्बन गर्ने समय नजिकिँदो छ । संसारमा सबैभन्दा बढी तेलको उपभोग गर्ने राष्ट्र अमेरिका, जापान, चीनपछि भारत पर्दैछ । यूरोपेली मुलुकहरुले तेलप्रतिको निर्भरता घटाउने ठूलो कसरतमा लागेका छन् र तिनले धेरैजसो चाहिँ विद्युतीय साधनको उपभोगमा जोड दिइरहेका छन् । यस्तै उपायहरुमा ठूला देशहरुको ध्यान नगए सबैभन्दा ठूलो मूल्य चाहिँ नेपालजस्ता साधनश्रोतको पहुँच नहुने राष्ट्रहरुले नै चुकाउनु पर्ने हुन्छ ।

तेलको अभाव संसारमै भयो भने के हुन्छ ? यसका अनेक सिद्धान्तहरु प्रचलित छन् । तर संसारमा अराजकता फैलिन्छ र तेल नै तेस्रो विश्वयुद्धको प्रमुख कारण बन्नेछ भन्ने धेरै विद्वानहरुको राय छ । त्यसैले त धेरैजसो वैज्ञानिकहरुले जैविक तेल, विद्युतीय सामग्री र अन्य विकल्पहरुमा जोड दिइरहेका छन् । तर धेरै तेल खपत गर्ने राष्ट्रहरु अमेरिका, जापान र चीनले वैकल्पिक श्रोतका तर्फनिकै कम ध्यान दिएका छन् । ठूला राष्ट्रहरुले ध्यान नदिउञ्जेलसम्म अन्य राष्ट्रहरुले पनि त्यसमाथि ध्यान केन्द्रित गर्न सकिरहेका छैनन् ।

दशैँमा पेट्रोलियम पदार्थको भाउ बढाएर कानमा तेल हालेको नेपालको सरकारले वैकल्पिक ऊर्जाका विषयमा सोच्ने फूर्सद पाएको छैन । नेपालमा पेट्रोलियम पदार्थको खानीको सम्भावना त छ तर त्यसमाथि लगानी गर्नेहरुको रुचि प्रति वर्ष घट्दै गइरहेको खानी तथा भूगर्भ विभागले जनाइसकेको छ । यस्तो अवस्थामा यदि विश्व बजारमा तेलको मूल्य अझ वृद्धि भयो भने नेपालजस्तो देशले तेलका कारण बढ्ने महङ्गीलाई थेग्न सक्छ कि सक्दैन ? यदि थेग्न सकेन भने नेपालमा भर्खरै फस्टाउने प्रयास गरेको लोकतन्त्र र शान्ति प्रक्रियालाई कस्तो आघात पुर्‍याउन सक्ला, अध्ययनको विषय बन्न सक्छ ।

तर नेपाल कृषिप्रधान देश भएकाले ऊखु र एण्डी नामक वनस्पतिका दाना आदिबाट जैविक तेलको उत्पादन हुनसक्ने र नेपालजस्तो देशका लागि पेट्रोलभन्दा यो उत्पादन सस्तो हुनसक्ने तर्फकेही वैज्ञानिकहरुले ध्यानाकर्षण गराइरहेका छन् । हामीलाई तेलको अभावले ज्यादै सताएको खण्डमा यस्ता जैविक तेलको उपयोगले वातावरणीय प्रदूषणबाट पनि मुक्त हुन सक्नेछौँ ।

तेलले कसरी देशकै अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ र त्यसका कारण सर्वसाधारण जनताले कस्तो दुःख पाउँछन् भन्ने उदाहरण क्युबामा सन् १९९० को दशकमा भोगेको कष्टबाट प्रष्ट हुन्छ । सोभियत संघको पतनपछि क्युबाले रुसबाट पाउने गरेको तेल ८० प्रतिशत कटौतीमा पर्‍यो । त्यो कटौतीले बस, निजी गाडी, पानी जहाजदेखि विद्युत आपूर्तिमा समेत ठूलो संकट उब्जियो । समाजवादी शासन प्रणाली भएका कारण क्युबालीहरुले निजी गाडी छाडेर सार्वजनिक सवारी प्रयोग गर्न शुरु गरे । नजिकै काम पाउनेहरु हिँडेर जान थाले । कम ऊर्जामा बढीभन्दा बढी फाइदा लिने तर्फसरकारले सबैलाई ध्यानाकर्षण गरायो । कहाँ पहिलेको १०० प्रतिशत ऊर्जा प्रयोगको समय र अहिले कहाँ २० प्रतिशतमै गुजारा चलाउनु पर्ने अवस्था ! तर ती कष्टलाई पनि उनीहरुले सहन गरे । अमेरिकी प्रतिबन्ध, तेलको सङ्कट र गरिवी ! तीन वटै रोगसँग क्युबाले संर्घष गर्‍यो । आज त्यसको मूल्य के भयो भने दक्षिण अमेरिकी महादेशमा बढ्दो अर्थतन्त्र र सम्भावनायुक्त राष्ट्रका लहरमा ब्राजिलको पछि-पछि आइरहेको छ । संकटसँग सामूहिक संघर्षको प्रतिफल हो, आजको विकाशोन्मुख क्युबा ।

त्यसो त तेल सङ्कटले नेपालमा कस्तो स्थिति पैदा गर्ला भनेर कतैबाट कुनै अध्ययन भएको थाहा छैन । विभिन्न कारणले भारतले तेलको अभाव त देशमा सिर्जना हुन दिन्छ, तर पूर्ण ठप्प पार्न चाहिँ गाह्रै हुन्छ । तर दुर्दिन कुर्नुभन्दा संकटअघि नै आफ्नो चाँजोपाँजो मिलाउनु नै बुद्धिमतापूर्ण नहोला र !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
पेट्रोल crisis मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी संविधानसभा अनुभव celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,