Home» Music »Feature

सत्य-स्वरुपः सङ्गीतका उर्लँदो भेल



- अच्युत कोईराला
पछिल्लो पुस्तामा सत्य-स्वरुप प्रतिभासम्पन्न गायकका रुपमा चिनिन्छन् । उनीहरुको प्रतिभालाई जगले स्वीकार गरिसकेको छ । त्यसो त यो प्रतिभालाई कतिपय सङ्गीत समीक्षकहरुले वंशानुगत मान्छन् । सत्य-स्वरुपराज आचार्यका पिता भक्तराज आचार्यको गायनको गमक र सुरको पकड ठ्याक्कै उनीहरुमा सरेर आएको छ । त्यसैले त उनीहरुले आधुनिक गीत गाए पनि सुरम्य सुनिन्छ अनि पप गीत गाए पनि नाचुँनाचुँ लाग्छ ।

२०५४ सालमा लाहुरेदाइ गीति एल्बम बजारमा ल्याएर आफ्नो साङ्गीतिक उपस्थिति जनाएका सत्य-स्वरुपले छोटो अवधिमा ठूलो नाम बनाइसकेका छन् । तर चलनचल्तीभन्दा फरक अन्य गायकहरुजस्तो हरेक वर्ष एल्बम निकाल्ने कुरामा चाहिँ कञ्जुस्याइँ गरिरहेको हामी पाउँछौँ । त्यसैले त सङ्गीत उद्योगमा छिरेको १० वर्षको अन्तरमा मात्र तीन वटा एल्बम बजारमा आएका छन् । कम एल्बम निस्किए पनि बाक्लो चर्चा पाउने भाग्यमानी मध्येमा सत्य-स्वरुपलाई लिन सकिन्छ ।

उमेरमा उति फरकपना नभएर होला, धेरैले यिनलाई दाजुभाइ भन्दा पनि साथीभाइका रुपमा चिन्छन् । यी राइट दाजुभाइका व्यक्तिगत र साङ्गीतिक विषयमा छलफल आज हामी छलफल गर्नेछौँ ।



भक्तराज आचार्यको छोरा हुनुको फाइदा कस्तो रह्यो साङ्गीतिक जीवनमा ?
सत्य- फाइदाजनक । किनभने बुवाको नामले नै डोर्‍याइरहेको छ र पछिसम्म पनि जीवनभर छायाँ बनेर पछ्याइरहन्छ । बुवाकै कारणले प्राथमिकता पाइरहेका छौँ । पत्रपत्रिका, टेलिभिजन वा अन्य मिडियामा प्राथमिकता पाइरहेका छौँ । नामकै कारण विश्वास गर्छन् ।
स्वरुप- फाइदासँगै बेफाइदा पनि छन् । हरेक कुरा बुवासँग तुलना हुन्छ । एकदमै राम्रो गायो भने पनि भक्तराजका छोरा भएपछि यति त गाउनै पर्‍यो नि भन्छन् र नराम्रो गायो भने भक्तराजका छोरा भएर पनि नराम्रो गाउने भन्छन् ।



आफ्नो बालककाललाई कसरी सम्झन चाहनु हुन्छ ?
सत्य- हामी बालककालमा ज्यादै मिहिनेती, चञ्चले र ट्यालेण्टेड थियौँ । कविता, निबन्ध प्रतियोगितामा प्रथम भइन्थ्यो । नाटकहरु आफैँ लेख्ने, निर्देशन गर्ने र खेल्ने गर्दथ्यौँ । नाचघरमा पनि नाटक देखायौँ । फिल्म र गीतको क्रेजी थियौँ । अशोक हलका कुनै सिनेमा छुट्दैनथ्यो । गीत सुन्ने बित्तिकै कण्ठस्थ हुन्थो । कण्ठस्थ भएका गीतलाई हामी उस्तै नक्कल गरेर गाउने प्रयास गर्दथ्यौँ ।
स्वरुप- हामी कोही बेला अलि बदमास पनि हुन्थ्यौँ । चलिरहन्थ्यौँ । चल्दाचल्दै एक पटक सत्यले मेरो हात भाँचिदिएको छ । मामाघरका कुखुराहरु मारिदिने पनि गर्‍यौँ । त्यसपछि त त्यहाँ जान पनि प्रतिबन्ध लाग्यो ।


एक त स्वाभिमानी गायक पिता, त्यसमाथि आर्थिक अभाव, यसले तपाइँहरुको हुर्काईमा कस्तो प्रभाव पार्‍यो ? कहिले कुनै कुराको अभाव महसूस भयो ?
सत्य- हामी आर्थिक संकटबाट गुज्रियौँ । त्यसैले बोर्डिङ स्कूल पढ्दापढ्दै पनि पछि एसएलसी सरकारी स्कुलबाट गर्नु पर्‍यो । त्यो बेलामा बुवाको दुर्घटनापछि संघर्ष गर्नका लागि बिक्रम टेम्पो चढ्न चार रुपियाँ पनि गोजीमा हुँदैनथ्यो । लगनखेलबाट सुन्धारा त जसोतसो आउँथ्यौँ तर फर्कने बेलामा कोही चिनेको मोटरसाइकल-चालक भेटिई पो हाल्ला कि भनेर सडक कुर्दथ्यौँ । त्यस्ता दिन पनि थिए ।
स्वरुप- आर्थिक अभावका कुरा त भइहाले । सँगैमा आफ्नो घरमा घरमुली कुनै भयानक रोगको शिकार हुँदा त्यसले पार्ने मानसिक तनाव र अभावबाट धेरै गुज्रियौँ । सत्य, म र ममी यस्ता व्यक्ति थियौँ कि जसले अभाव, पीडा र दुःखसँग धेरै वर्ष संघर्ष गरेका छौँ । बुवाको दुर्घटनापछि एक्कासि चञ्चले केटाकेटीबाट म्याच्योर युवामा परिणत हुन पुग्यौँ ।

मैले सुनेअनुसार बच्चामा तपाइँहरु लुकीलुकी बुवाले रियाज गरेको सुन्नु हुन्थ्यो रे, हो ?
स्वरुप- बुवाले हाम्रो जीवनमा हेभी गीतको टेस्ट राखिदिस्यो । सानो उमेरमै हामीलाई हेभी गीतको रुचि बस्यो । बुवाले आफैँले हार्मोनियममा राखिदिस्या भए झनै फाइदा हुन्थ्यो होला जस्तो लाग्छ । यो सत्य हो, हामीले बुवाको रियाज लुकीलुकी सुनेर नै म्युजिकको टेस्ट पायौँ ।
सत्य- लुकीलुकी सुन्नुको कारण चाहिँ उहाँ हाम्रो स्कूलको संगीत र अंग्रेजी विषयको शिक्षक होइसिन्थ्यो । बुवा ज्यादै कडा होइसिन्थ्यो । हामी स्कूलमा पनि डराउँथ्यौँ, घरमा त झनै । ज्यादै स्ट्रिक्ट होइसिन्थ्यो । त्यही भएर हामी उहाँले रियाज गरेको लुकीलुकी सुन्थ्यौँ । बेफाइदा के रह्यो जस्तो लाग्छ भने, गायन टेक्निक सिकिन्थ्यो होला, कर्ड, राग र अन्य गम्भीर सङ्गीत बुझ्न सक्थ्यौँ होला । फाइदा चाहिँ सानो उमेरमा नै झपताल, रुपकताल काउन्ट गरेर गाउन सक्थ्यौँ । बाह्रै सुरको ज्ञान त्यै बेला अलिअलि थियो ।



कुन बेलादेखि लाग्यो तपाइँहरुलाई कि बुवाको गायन मोह आफूमा पनि सरेछ भनेर ?
सत्य- स्कूलदेखि नै गाउँथ्यौँ । स्कूलमा बुवाले सिकाइसिन्थ्यो । त्यति बेला नै फस्ट प्राइज जितेर ल्याउँथ्यौँ । त्यो टेस्ट हामीमा सर्‍यो भन्ने कुरा चाहिँ बुवाको दुर्घटनापछि बढी थाहा पायौँ ।
स्वरुप- बुवाको दुर्घटनापछि हाम्रो घरमा १० वर्ष हार्मोनियम बजेन । त्यो बेला सांगीतिक वितृष्णा जन्म्यो । तर जति हारे पनि हामी अवश्य उठ्छौँ भन्ने लाग्यो । धेरैले हामीलाई झुलाए, अन्डरस्टीमेट गरे भन्ने लागेपछि नै हामी यसमा अझ बढी गहिरिएर लाग्यौँ । त्यसैबेला हो, हामीलाई बुवाको गायन मोह हामीमा पनि सरेछ भनेर ।

बुवाको त्यो कुन दुर्घटना थियो ? त्यो कसरी घट्न पुग्यो ?
सत्य- २०४६ साल मंसीर १९ गते राति गोपाल योञ्जनको घरमा रियाज गरेर फर्कँदा कञ्चन पुडासैनी र बुवालाई पूर्ण नेपाली भन्ने गायकले तेब्बर लोड बोकेर घर पुर्‍याउनु पर्ने भयो । कञ्चन पुडासैनीलाई जोरपाटी छोडेर फर्कँदा बौद्धमा अलिकति खाउँ भनेर भन्नु भयो । त्यसबेला गुण्डाहरुको चहलपहल निकै थियो त्यहाँ । बुवाले अस्वीकार गरिस्यो । पूर्ण नेपालीले खाने मूडमा रेष्टुराँमा छिर्नु । खाइसकेपछि त्यहाँका गुण्डाले उहाँलाई पैसा तिराउन लगाए र हातपात समेत गरे । आफूले नखाएको पैसा तिर्ने कुरा थिएन । पछि गुण्डाको कुटाइबाट बच्न पूर्ण नेपालीले उसले तिर्छ भनेर बुवातिर देखाइदिएर अर्को बाटोबाट भागे । बुवालाई एक्कासि गुण्डाहरुले घेरेर पैसा तिर्न भने । एक्कासि आफूलाई पैसा तिर्न गरेको बलजफ्तीका कारण शुरुमा त उहाँ छक्क पर्नुभयो र पछि तिर्न अस्वीकार गर्नुभयो । यही निहुँमा बुवालाई निर्घात कुटपिट गरे । जसका कारण बुवाको टाउकोमा गम्भीर चोट लाग्यो । १०० टाँका टाउकोमा लगाउनु पर्‍यो । यो घटनाले हाम्रो परिवार क्षतविक्षत भयो ।
स्वरुप- बुवालाई त्यस्तो भयो भन्ने कुरा त महसूस पनि भएन । बुवाका लागि त्यो पिक टाइम थियो । उहाँका लागि महिनौँ  कुर्ने संगीतकार, गीतकारहरु थिए । अहिले विचार गर्दा यो अनसल्भ्ड मिस्ट्री र सुनियोजित षडयन्त्र जस्तो पनि लाग्छ ।

कुन बेला तपाइँहरुलाई लाग्यो, अब हाम्रो जीवनको अभिन्न अंग नै म्युजिक हो भनेर ?
सत्य- २०५५ सालमा लाहुरे दाइ एल्बम रिलिज भयो । मौन तिम्रो अधरले... गीतको भिडियो बन्यो । हिट भयो । हिट्स अवार्डको बेस्ट न्यू आर्टिस्ट पुरस्कार पायौँ । यसपछि नै हो, म्युजिक मै लाग्नु पर्छ र यो नै हाम्रो जीवनको अंग हो भन्ने लागेको ।
स्वरुप- रेकर्ड गर्ने क्रममा अन्य व्यक्तिहरुले गाउन दिन थाले । एक पटक काम गरेकाहरु दोहोर्‍याउन र तेर्‍याउन थालेपछि हामीलाई लाग्यो कि हामीमा पनि केही रहेछ !

स्कूलमा पहिलो पटक तपाइँहरुले कहिले आफ्नो गायन प्रस्तुत गर्नु भयो ? त्यसबेलाको कुनै स्मरणीय क्षण ?
सत्य- नर्सरीमै गाउँथ्यौँ, राइम्सहरु । टीका विद्याश्रम माविमा पढ्दा एक चोटी ६ कक्षामा हुँदा बुवाको बालगीत गाएको थिएँ- वसन्तका फूल हौ, शरदका जून हौ... । सप्पैले प्रशंसा गरेका थिए । गायकका छोरा, गायकै बन्नुपर्छ भनेका थिए धेरैले । त्यो क्षण मलाई अहिले याद आइरहेको छ ।
स्वरुप- त्यही कार्यक्रममा बुवाकै आज हामी साना-साना नानी... गाएको थिएँ । अन्य स्कूलका पनि थिए । सत्य प्रथम म चाहिँ दोस्रो भएको थिएँ । अहिले मलाई त्यही क्षण याद आइरहेको छ ।

तपाइँहरुको जीवनमा एउटा घटना वज्रपात बन्यो, बुवामाथिको आक्रमणपछिको क्यान्सर । त्यसबेलाको क्षणलाई कसरी सम्झनु हुन्छ अहिले ?
सत्य- सय टाँका लगाए पनि डाक्टरहरुको पूर्वानुमान अनुसार न त उहाँमा पागलपनको कुनै लक्षण देखियो न त अङ्गभङ्ग नै भयो । पछि उहाँ निको भइसकेपछि नाचघरमा कर्न्र्सट पनि गरिस्यो । तर पछि चाहिँ सानो खटिरा जिब्रोमा देखापर्‍यो । त्यही घटिरा क्यान्सरमा परिणत भयो । त्यसपछिका दिनमा एक निरीह स्त्री र दुइ अबोध बालकहरुको भविष्य सम्झेर बुवा छटपटाइसिन्थ्यो । त्यही पीडाले रुने, कराउने गरिसिन्थ्यो । त्यो पीडाका कारण उहाँ पीडाबाट मुक्ति पाउन डोरी लिएर निस्किसिन्थ्यो, आत्महत्या गर्न । यस्तो अवस्थामा आमा रोइसिन्थ्यो, बुवा पनि । दुवै अभिभावक रोएको देख्दा हामीलाई असाध्य पीडा हुन्थ्यो । त्यो पीडाको तपाइँ अनुमान मात्र गर्नसक्नु हुन्छ, महसूस गर्न सक्नु हुन्न ।
स्वरुप- क्यान्सरपछि हाम्रो घरमा जुन अवस्था आयो, त्यो सम्झदा गीतार र हार्मोनियम प्रति नै घृणा हुनुपर्ने हो । पीडा, रोदन, दुःखलाई हामीले प्रत्यक्ष भोग्यौँ । त्यस बाहेक पनि बलेको आगो ताप्ने उखान पूर्ण रुपमा सत्य रहेछ भन्ने कुरा आफ्नै घरमा, आफ्नै आँखाअगाडि देख्ने मौका पायौँ ।

तपाइँलाई सङ्गीत उद्योगमा तान्ने काममा चर्चित सङ्गीतकार शम्भुजीत बासकोटाको पनि रहेको छ भनिन्छ, सत्य के हो ?
सत्य- शत प्रतिशत सत्य हो । किनभने विस्तारै गाउन थालेको बेलामा, रेडियोमा आवाज सुनेको भरमा एकेडेमीमा बोलाएर गाउन दिनु भएको थियो । पहिलो गीत १६ वर्षो जोवन फिल्मको गीतको टाइटल गाउन दिनु भएको थियो । जुन गीत ज्यादै लोकप्रिय पनि बन्यो । र, मलाई एकेडेमीमा पनि जागीर दिनुभयो । पछि म त्यहीँ २०५६ देखि २०५९ सम्म गायक र अभिनेताका रुपमा त्यहाँ जागीर पनि खाएँ । बुवापछिका बुवा, गुरु वा मार्गदर्शक उहाँलाई जे भने पनि हुन्छ ।
स्वरुप- यो अवस्थामा हामी दुइ जना आइपुग्नुमा उहाँको ठूलो हात छ । चलचित्रमा गाउने मात्र होइन कि भिन्न शैली र शिल्प कसरी उपयोग गर्ने भन्ने कुरा पनि सिकाउनु भयो । उहाँले मलाई त बम्बईमा लगी मुम्बई गएर भारतीय गायक-गायिकाहरुसँग उठबसको मौका पाएँ । १९ वर्षको उमेरमा मजस्तो फुच्चेले त्यो अवसर पाउनु निश्चय नै सुखद् कुरा थियो । त्यस्तै २००० मा हंगकंगमा कार्यक्रम गर्ने मौका पाएँ उहाँसँग । अझै पनि धेरै कुरामा उहाँले सल्लाह सुझाव दिनु हुन्छ । उहाँका एल्बममा हामीले निरन्तर गाउने मौका पाइरहेका छौँ ।
 
तपाइँहरुको पहिलो एल्बम लाहुरे दाइ निकाल्नु पर्छ भनेर कहिले सोच पलायो ?
स्वरुप- मौन तिम्रो अधर... रेकर्ड २०५४ मा गर्दा साथीभाइलाई सुनायौँ । एल्बम नबन्दै हिट्स अवार्ड पायौँ । त्यो अवार्डले हामीलाई हौसला दियो र एल्बम बन्यो ।
सत्य- रामकृष्ण ढकालको एल्बम आर्शीवादको चर्चा ज्यादै ठूलो त्यसबेला। एल्बम भन्ने कुरा ठूलो रहेछ भन्ने लाग्यो । एल्बम मार्फत् नै घरदैलोमा पुग्न सकिँदो रहेछ भन्ने लागेर यो एल्बम निकाल्न लाग्यौँ । त्यसबेला एक जना दाइले २० हजार सहयोग गर्नुभयो । र, एल्बम बजारमा आयो ।

यो एल्बमले तपाइँहरुलाई पहिचान त दिलायो तर उति धेरै सफल एल्बम होइन भन्छन् नि ?
सत्य- एल्बम निस्कनु अघि नै भिडियो बन्यो र अवार्डसमेत पाइसकेको अवस्था थियो । एल्बम निस्कियो तर प्रमोशन भएन । अन्य भिडियो पनि बनेनन् । त्यसैले त्यो एल्बम जति हिट हुनु पर्दथ्यो, हुन सकेन ।
स्वरुप- जेनतेन दुःख गरेर एल्बम निकालियो । प्रविधि र व्यवहारिक रुपमा पनि कमजोर भएको र केही थाहा नभएको कारणले त्यो एल्वममा जति गर्न सकिन्थ्यो, गर्न सकिएन । कतिसम्म भने एल्बमबाट कति रोयल्टी आयो होला भनेर बुझ्न जाँदा त म्युजिक नेपाललाई हामीले उल्टै १ हजार ७ सय १९ रुपियाँ तिर्नुपर्ने देखिएछ ।

यो एल्बमका गीतहरु जति प्रख्यात हुनु पर्ने हो भएन भन्ने केही समीक्षकको भनाइलाई तपाईहरु के भन्नु हुन्छ ?
सत्य- सही कुरा हो । त्यसबेला सुन्ने भन्दा पनि हेर्ने जमाना आयो । फास्ट ट्रयाकको भिडियो बन्यो । तर अन्य गीतहरु ओझेलमा परे । जसमा बुवाका कम्पोज भएका गीतलाई केही गर्न सकिएन । मीठा गीत प्रमोशनको अभावका कारण नै ओझेलमा रहे र तुहिए ।
स्वरुप- गीतहरु ज्यादै राम्रा थिए । नयाँ कलाकार भएकाले पनि कम्पनीले गम्भीरतापूर्वक नलिएको हो कि भन्ने जस्तो पनि लाग्यो ।

त्यसपछि तपाइँहरुले अलि बढी समय लिएर मुटु जलिरहेछ एल्बम निकाल्नु भयो । आफ्ना बुवाका गीतलाई आफ्नो स्वरमा गाएर, कस्तो अनुभव रह्यो ?
स्वरुप- गाह्रो अनुभव । लाहुरे दाइ निकालिसकेपछि पपतिर लागे भनेर केही जमातले आलोचना गरे । तर ती व्यक्तिका लागि राम्रो सबक थियो, पाठ थियो । गाह्रा गीत भए पनि त्यसमाथि हामीले गरेको मिहिनेतले रङ ल्यायो ।
सत्य- बुवाको गीत गाउनु नै फलामको च्यूरा चपाउनु हो । जो सुकैलाई पनि । हामीले तीन वर्ष मिहिनेत र रियाज गरेर, बुवाबाट सिकेर एल्बम निकाल्यौँ। सात सात टेकमा ओके भएका गीतहरु पनि त्यहाँ छन् । बुवाको डेप्थ, रेञ्ज, सुरको पकड र गायकीलाई पछ्याउन नसके पनि 'फील' गर्ने प्रयास गरेका थियौँ । जहाँसम्म लाग्छ, त्यो सफल भयो । र, महत्वपूर्ण कुरा मुटु जलिरहेछ... भिडियोले पनि ठूलो प्रभाव पार्‍यो ।

तपाइँहरुको एल्बम सुन्दा उहाँको प्रतिक्रिया कस्तो हुन्थ्यो ?
सत्य- अझ मिहिनेत गर, सुरज्ञान लिनु भनिसिन्थ्यो । अल्छी नगर, रियाज पुगेको छैन आदि भनिसिन्थ्यो ।
स्वरुप- बुवाले कहिले पनि पप या सस्तो म्युजिक शैली भनेर हेपिसिन्नथ्यो । यो पनि एउटा शैली हो तर गम्भीरता हुनुपर्छ भनिसिन्थ्यो । यसमा शास्त्रीयता घुसाउने सुझाव दिइसिन्थ्यो ।

अहिले तपाइँहरुको काममा बुवाको सहयोग कस्तो हुन्छ ? उहाँले सुझाएका केही राम्रा कुराका उदाहरण छन् कि ?
स्वरुप- प्रायः कम्पोजिशनमा उहाँको सिग्नेचर हुन्छ । जस्तो अलिअलि भन्दाभन्दै... (जगदीश समाल) गीतमा उहाँले सिकाइस्या कुराहरु प्रयोग गरेका थियौँ । तिम्रो नशालु आँखाले मलाई मार्‍यो.... गीतमा पहिले हाम्रो दुइ वटा मात्र भेरिएशन थियो (अन्तराको अधरमा नशा तिम्रो मुहारमा नशा) तर यसलाई चार वटा बनाउने सुझाव दिइस्यो । उहाँले सिकाइदिस्या टेकनिकका कारण त्यो अझ सुन्दर भएको छ ।
सत्य- बुवाको मूडमा भर पर्दथ्यो । उहाँ कहिलेकाहीँ हाम्रो गीत सुनेर आइसिन्छ र सुझाव दिइसिन्छ । कहिलेकाही बिट नै चेञ्ज गरिदिसिन्छ । जस्तो, दादराको एक मात्रा बढाएर रुपकमा लैजान सुझाव दिइसिन्थ्यो । त्यो प्रयोग गर्दा अझै मीठो हुने र फ्लो पाउँथ्यो । हामीले लेखेका शब्दमा कतिपय शब्द चेञ्ज गरिदिइसिन्थ्यो । उहाँले हिन्दी शब्द घुसाउँदा त्यसलाई त्यति रुचाइसिन्न । यी कुराहरु प्रायः सिर्जनामा हामीमा पनि लागू भइरहेका छन् । कहिलेकाहीँ हामी कन्फ्यूज हुँदा बुवालाई सोध्छौँ, र उहाँले यति भेरिएशन दिइसिन्छ कि हाम्रालागि ती निकै प्रेरक हुन्छन् ।

अहिलेको नयाँ एल्बम म्युजिक चाहिँ कस्तो एल्बम हो ?
सत्य- यो सम्पूर्ण रुपले प्रयोगात्मक एल्बमको रुपमा यसलाई लिएका छौँ । किनभने यसमा फ्यूजन शैलीका गीत, सुफी टचका गीत, पूर्वीय र पाश्चात्य संगीतलाई ब्लेण्ड गर्ने, आलाप र सरगम ठाउँठाउँमा लिएर वेर्स्र्टन सिंगिङको मोडूलेशनलाई पनि प्रयोग गर्न खोजेका छौँ । विशुद्ध मादलमा रक र गीतारको मिश्रण उपयोग गरेका छौँ । पूर्वीय लोकभाका लिम्बूहरुको पालमलाई पनि घुसाउने प्रयास गरेका छौँ । आधुनिक शैलीका गीतलाई संयोजन नै फरक भएकाले गीतको रंग नै भिन्दै पाउन सक्नु हुन्छ ।
स्वरुप- यो एल्बम हाम्रा लागि महत्वपूर्ण एल्बम हो । हाम्रो आफ्नै सबै संगीत र अधिकांश शब्दमा निकालिएको एल्बम हो । जसलाई दर्शक श्रोताले रुचाइदिनु भएकाले त्यो प्रयोग सफल भएको हामीलाई लागिरहेको छ ।

दशैँ अगाडि बजारमा आइसकेकोले अहिलेसम्म यसको व्यापार कस्तो पाउनु भएको छ ?
स्वरुप- अहिलेसम्म ज्यादै राम्रो रेस्पोन्स आइरहेको छ ।
सत्य- विगतका एल्बमले ६ महिनामा दिने फिडब्याक यो एल्बमले एक महिनाभित्रैमा दिएको छ । अब आफैँ कल्पना गर्नुस्, ६ महिनामा यसले के गर्ला !

भविष्यका दिनमा तपाइँहरुले त अहिले नै गजल एल्बमसमेत तपार पारिसक्नु भएको छ भन्ने हल्ला छ नि ?
सत्य- गजल मात्र निकाल्ने योजनामा छौँ । यो पूर्णरुपमा व्यवसायिक नहुन पनि सक्छ । तर पनि व्यवसायिकता ल्याउन, संयोजन पक्षमा ध्यान दिएका छौँ । पाश्चात्य र लोक शैली मिसिएको अनि जुगलबन्दी गरिएको यो मौलिक एल्बम हुनेछ ।
स्वरुप- गजलहरु गाह्रो शैलीका भए पनि सुमधुर हुनुपर्छ भन्ने मान्यताले काम गरिरहेका छौँ । लेख्नका लागि मात्र गजलहरु छन्, तर गाउनका लागि समेत हुनु पर्ने हाम्रो मान्यता भएकाले यो एउटा श्रवणीय एल्बम हुनेछ भन्ने हाम्रो दाबी छ ।

अन्त्यमा, दर्शक तथा श्रोताहरुलाई केही भन्न चाहनु हुन्छ ?
स्वरुप- म्युजिक एल्बमलाई किनेर सुनिदिनुस् । राम्रो भए ताली बजाइदिनुस् र अरुलाई पनि किन्न भन्नुस् । नराम्रो भए गाली गर्नुस् ।
सत्य- नेपाली सङ्गीत र साहित्यलाई माया गरौँ । नेपालीपनमा विश्वास गरौँ । नेपाल रहे नेपाली रहन्छौँ । धन्यवाद ।

photos: Anil Sthapit

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
लुकेका कुरा गायक विचार उपलब्धि कीर्तिमान गीतकार बजारमा क्या बात ! हल्ला समुद्रपार सङ्गीतकार नेपाली तारा रिलिज ट्रयाक बाहिर गायिका परिस्थिति अवार्ड कन्सर्ट प्रेम र विवाह रुचि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: