Home» City Life »Updates

अवधकी महारानीको बागबजारमा उपहास !


- डीपी शाह चक्रवर्ती

आजभन्दा डेढ सय वर्षअघि सन् १८५७ मा भारतको अवधपुरकी महारानी बेगम हजरत महललाई तात्कालिन श्री ३ महाराज जंगबहादुर राणाले शाही पाहुनाको रुपमा नेपालमा ल्याई महारानी र उनका छोरा ब्रिजिश कदरको प्राण रक्षा गरेका थिए । अवधपुरीको राजधानी लखनउबाट महाराजा वाजिद अलि शाहलाई बेलायती सेनाले पक्राउ गरेर कलकत्ता लगेपछि महारानी आफ्नो छोरासहित नेपाल आउँदा भनिन्छ, थुप्रै हीरा, जवाहरात र सम्पत्तिसहित नेपाल भित्रिएकी थिइन् । महारानी बेगम हजरत महललाई शुरुमा चाँदनी महल (अहिलेको नेपाल राष्ट्र बैंक, थापाथली) मा राजकीय सम्मानका साथ राखिएको थियो । विस्तारै महारानीको सम्पत्ति सकिएपछि उनी चाँदनी महलबाट लालदरबारमा बस्न थालिन् ।

कालान्तरमा उनको मृत्यु भएपछि महारानीको पार्थिव शरीरलाई बागबजारस्थित मुस्लिमहरुको चिहानमा मस्जिदसँगै अन्तिम संस्कार गरिएको थियो । त्यतिबेलाको बागबजारस्थित चिहानको सट्टा तत्कालिन महाराज चन्द्र शमशेरले स्वयम्भूमा चिहान सारेर पहिलेको चिहानस्थलमा हाल बस्ती बन्न पुगेको कुरा जानिफकारहरु बताउँछन् । अन्य सर्वसाधारण व्यक्तिहरुका चिहानहरुमाथि अहिले बागबजारका अग्लाअग्ला महल ठडिए पनि महारानी बेगम हजरत महलको चिहान बागबजार पेट्रोल पम्पसँगैको मस्जिद जाने मोडमा फोहोर फाल्ने रछ्यानको रुपमा पाउन सकिन्छ ।

एउटी ऐतिहासिक महिला, त्यसमा पनि एउटी छिमेकी मुलुकबाट आफ्नो प्राण रक्षार्थ नेपाल आएर आफ्नो इहलीला समाप्त गर्न पुगिन् । र, आज त्यस पुरातात्विक ऐतिहासिक महत्व राख्ने उनको चिहान वरिपरि पान खाएर थुक्ने र फोहोर फाल्ने रछ्यान बन्न पुगेको छ । महारानी भारतबाट नेपाल पस्दा उनका सुसारेको रुपमा सँगै आएका मुस्लिमहरुका सन्तानमध्ये कतिलाई बेगमको चिहान बारे थाहा छैन भने कतिपयले थाहा पाएर पनि बुझ पचाउँदै आएका छन् । यसरी एउटा पुरातात्विक महत्व बोकेर आफूसँगै सिंगो इतिहास मात्र नबोकेर नेपालीहरुको उदारता र आत्मियताको कथा बोकेको महारानीको चिहान अहिले बेवारिस तथा फोहोरको रुपमा उपहास बन्दै आफूसँगै आफ्नै परिचय खोज्न बाध्य भएको छ ।

मस्जिदजस्तो धार्मिक स्थलसँगै जोडिएको महारानीको चिहानलाई सफा, सुग्घर पारेर संरक्षित तवरले नराख्ने हो भने एउटा ऐतिहासिक धरोहर विलिन हुनुका साथै राज्यले एउटा छिमेकी मुलुकबाट शरणार्थीको रुपमा नेपाल आएकी महिला योद्धाको पार्थिव शरीरलाई पनि सम्मान गर्न नसकेको आरोप नलाग्ला भन्न सकिन्न ।






photos: achyut koirala/ enasha.com

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
अनुभव माओवादी संविधानसभा हल्ला मोबाईल awards सेलेब्रिटी पेट्रोल streets crisis समलिङगी hi-life celebrity events festival
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,