Home» City Life »Updates

आयो रसिलो चाड तिहार



राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । तिहारलाई दीपावली पनि भनिन्छ; यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई 'पञ्चक' भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ । यो पर्व फूल, माला, झिलीमिली बत्ती र द्यौसी भैलोको लागि अनि सेल रोटी, अर्सा-अनर्सा, रोटेपिङ-लिङ्गेपिङका लागि बढी प्रसिद्ध छ । तिहार नेपालीहरूको लौकिक सामाजिक पर्व हो ।

तिहार पर्व कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म भव्यरूपमा मनाइन्छ । प्राणी मात्रमा देवत्व देख्ने र अनुभव गर्ने हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । यो चाडमा यमराज र यमुनाको पनि पूजा गरिन्छ । यमराजका दूतका रूपमा काग र कुकुरको पूजा गर्नुले जीव र जगतप्रति आदर-सम्मान र सद्भावना राखिएको पुष्टि हुन्छ । मानवसितको प्रत्यक्ष सम्बन्धको परिचायकको रूपमा काग, कुकुर, गाई र गोरुको पूजा गरिएको हो । नेपाल कृषि प्रधान देश भएकोले कृषि कर्ममा सहयोगी गाई गोरुलाई पूजा गर्ने परम्परा रहेको छ । गाईलाई लक्ष्मीको रूपमा पुजिन्छ । गौमाता भनेर सम्बोधन गरिन्छ । तिहारका पाँचदिनलाई क्रमशः कागतिहार, कुकुरतिहार, लक्ष्मीपूजा (गाई तिहार), गोरु तिहार (गोवर्धन पूजा) र भाइटीका भनिन्छ । यी पाँच दिनका बारेमा सङ्क्षेपमा यहाँ चर्चा गरिएको छ ।

कागतिहारः काग एउटा पक्षी हो; यो कालो रङको हुन्छ । कागलाई यमराजको दूत मानिन्छ । पहिले-पहिले परेवाले जस्तै कागले चिठी पत्र आदान प्रदान गर्दथ्यो भन्ने भनाइ छ । यमराजको हुलाकीको रूपमा यमलोक र पृथ्वीलोकको भ्रमण-निरीक्षण गर्ने काम कागले गर्दथ्यो । यमराज मृत्युका दवेता हुन् । उनलाई पृथ्वीवासी मानिस तथा अरू प्राणीको जन्म मृत्युको विवरण तथा जानकारी आवश्यक पर्ने भएकाले आकाशमार्गद्वारा छिटो समाचार सम्प्रेषण गर्न सक्ने हुनाले कागलाई यमराजले आफ्नो दूतमा नियुक्त गरेका हुन् । त्यसैको प्रतीकस्वरूप कागको पूजा गरी कागतिहार मनाउन थालिएको हो । यो दिन कागलाई निमन्त्रणा गरी घ्यू, भात, दाल, खान दिई फूलले पूजा गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीको दिन कागतिहार धन्वन्तरी जयन्ती मनाइन्छ । धन्वन्तरी ऋषि आयुर्वेदका प्रवर्तक हुन् । यो वर्ष कात्तिक 21 गते (Oct 7) कागतिहार परेको छ ।

कुकुरतिहार: कुकुर घरपालुवा, स्वामीभक्त, इमान्दार प्राणी हो । यो यमराजको दूत पनि हो । महाभारतको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा कुकुरलाई साथमा लगेका थिए । युधिष्ठिर धर्मराजका छोरा हुन् । कुकुर र धर्मराजसितको सम्बन्ध महाभारतमा उल्लेख छ । सत्यवादी युधिष्ठिर र स्वामीभक्त कुकुर यमराजका सम्बन्धित भएकाले त्यसैको सम्मान र प्रतीकस्वरूप कुकुरतिहार मनाउन थालिएको हो । यो दिन कुकुरलाई मीठा मीठा खानेकुरा खुवाई माला लगाइदिने चलन छ । पशुपक्षी र मानिसबीचको आत्मिक सम्बन्ध रहेको पुष्टि कुकुरतिहारले प्रमाणित गर्दछ ।

लक्ष्मीपूजाः तिहारको तेस्रो दिन लक्ष्मीपूजा र गाईतिहार पर्दछ । लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । गाईको गोबर र गहुँतलाई पवित्र मानी धार्मिक कार्यमा प्रयोग गरिन्छ । गोबरले घर लिप्ने र गहुँतको पञ्चकव्य खाई देहशुद्धि गर्ने हाम्रो चलन छ । लक्ष्मीपूजामा देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । सुन, चाँदी, रुपियाँ, पैसा भाँडाकुँडाको पूजा गरी घर घरमा दीपावली गरिन्छ । झयाल ढोकामा मालालगाई यसै दिनदेखि भैलो खेल्न शुरु गरिन्छ । गाग्रीमा पानी भरेर माला लगाई खड्कुलामा चामल राखी लक्ष्मीपूजा गरिन्छ । साथै अन्नपूर्ण देवीको पूजा गरी धनधान्यको समृद्धिको कामना गरिन्छ । यमराजलाई दीपदान गरी घर घरमा दीपावली पनि यसै दिन गरिन्छ ।

गोरु तिहारः तिहारको चौथो दिन गोरु तिहार र गोवर्द्धन पूजा गरिन्छ गाई वस्तुको वृद्धि होस् भनेर गरिने गोवर्द्धन पूजामा भगवान् कृष्ण र गोवर्द्धन पर्वतको पूजा गरिन्छ । गोरुलाई माला लगाई, हलोको पूजा गरिने हुँदा गोरुतिहारलाई हली तिहार पनि भनिन्छ । कृषिप्रधान देशमा गोरु र हलोको पूजा गरी मनाइने यो चाडको साँस्कृतिक महत्व छ ।

भाइटीकाः कात्तिक शुक्ल द्वितीयाको दिन भाइटीका मनाइन्छ । यसमा यमराज र यमुनाको पूजा गरिन्छ । यमुना यमराजकी बहिनी हुन् । यमराजलाई सधैँ कामको व्यस्तता भइरहने हुँदा दाजु बहिनीको भेट हुन पाएको थिएन । त्यसैले यमुनाले पाँच दिन तपाईं फुर्सद निकाल्नु होस् भनी यमराजसित अनुरोध गरेकी हुँदा यमराजले फुर्सद लिई यमुनाको घरमा बसेका थि- भन्ने भनाइ छ । त्यसैको सम्झनास्वरूप भाइटीका मनाउन थालिएको हो । एउटा कथा अनुसार; एकजना बहिनीको दाजु मृत्युको मुखमा पर्न आँटेका रहेछन् । जीवनको अन्तिम समयमा दाजुको सुस्वास्थ्य र आरोग्यको कामना गर्दै ती बहिनीले यमराजको पूजा गरिछन् । आफ्नो पूजा गरेपछि खुशी भएका यमराजले ती बहिनीलाई वरदान माग भनेछन् । त्यतिबेला ती बाठी बहिनीले यमराजको पूजा गर्दा तेलको मण्डप बनाई मखमली फूलको माला लगाइदिएकी थिइन् । उनले भनिछिन्- जबसम्म तेलको मण्डप सुक्दैन मखमलीको माला ओइलाउँदैन तबसम्म मेरो दाजुलाई यमलोक लान नपाउने वाचासहित वरदान मागिछन् । त्यसैको सम्झना वा प्रतीक स्वरूप भाइटीका मनाउन थालिएको हो । दाजुभाइ र दिदीबहिनीको सुमधुर सम्बन्ध, अटूटमाया र सद्भावको प्रतीकको रूपमा भाइटीका मनाउने परम्परा चलेको हो ।

हर्ष र उमङ्ग, प्रकाशमय पर्व, द्यौसी र भैलो, पटका र भुइँचम्पा, पीङ, सेल रोटी तिहार सम्झाउने वस्तु हुन् । महाकवि देवकोटाको जन्म जयन्ती लक्ष्मीपूजामा पर्ने भएकोले पनि यो चाडको महत्व अझ बढेको छ । दीपमालिका पर्वको रूपमा पाँचदिनसम्म मनाइने तिहारले आपसी सद्भाव, एकता र अखण्डताको पथ प्रदर्शन गर्दछ । बलिराजाको कथा अनुसार द्यौसी भैलो खेल्ने प्रचलन शुरु भएको मान्यता छ । नेवार समुदायमा भाइटीकाको दिन म्हपूजा (आत्मपूजा) गर्ने चलन पनि छ । यी विविध सांस्कृतिक महत्व र धार्मिक मान्यतामा आधारित तिहार नेपालीहरूको अद्वितीय मौलिक पर्व हो ।

- कृष्णप्रसाद भण्डारी

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
festival मोबाईल पेट्रोल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा अनुभव celebrity streets hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,