चार दिनको चाँदनी !

दिनमा घण्टौँ लामो लोडसेडिङका कारण तपाइँ अवश्य पनि चिन्तित भएको हुनुपर्छ । चार दिनका लागि तपाइँलाई सुनाउने एउटा असल खबर छ । कुलेखानीको जलभण्डारमा दुइ दिन यताको वर्षाले पानीको सतह बढेको छ । सूत्रहरुका अनुसार यसरी बढेको पानीको सतहका कारण अब चार दिनसम्म तपाइँले लामो लोडसेडिङ भोग्नु पर्ने छैन । विद्युत प्राधिकरणले कुलेखानीमा पानीको सतह घट्दै गएकाले लोडसेडिङको समय अझ बढ्न सक्ने बताउँदै आइरहेको थियो ।
कालीगण्डकी विद्युतगृहमा पानीको प्रवाह अघिल्ला केही दिनको तुलनामा तीब्र भएको पनि स्रोतले जनाएको छ । जसका कारण नेपाल विद्युत प्राधिकरणले आगामी चार दिनसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको हो ।
तर थप पानी परेन भने चार दिनपछि भने लोडसेडिङको अवधि पहिले तोकेझैँ दिनको ६ घण्टा हुनेछ । चार दिन की चाँदनी फिर अन्धेरी रात भनेको शायद यही हो ! त्यसैले प्रकृतिले चार दिनका लागि तपाइँलाई दिएको बोनस् विद्युत् राम्रोसँग उपयोग गर्नुहोस् ।