भ्यालेन्टाइन डे, २००७ को मौसम अचानक बदलियो । त्यतिसाह्रो जाडो अनुभव नगरिएको यो वर्ष अचानक कठ्याङ्ग्रिने जाडो महसूस भयो । र, त्यो भयो- जुन काठमाडौँको इतिहासमा कहिल्यै भएको थिएन । यसपछि त के हुनु थियो र ? मोबाइलका रिङटोनहरु अचम्मलाग्दा आवाज निकाल्दै कराउन थाले । तिनको सन्देश थियो- काठमाडौँ भित्रका विभिन्न ठाउँमा हिँउ पर्यो । यसपछि त हिउँको अनुहार बिरलै देखिने काठमाडौँमा युवायुवतीको अनुहार दिप्त भयो र योजना बुनिन थालिए- दामन, नगरकोट, फूलचोकी घुम्न जाने । भिजेर भए पनि हिउँको आनन्द लिनेहरुको लर्को लागे ती स्थानहरुमा । कोल्ड भ्यालेन्टाइन डे पनि हट बन्न पुग्यो । यसरी, प्रकृति आफैँले भ्यालेन्टाइन डेको अवसर पारेर मानिसहरुबीच मिलन र प्रेमको बिऊ रोपिदिएजस्तो महसूस गरियो । यसपछि रङ्गीन कल्पनाहरु कल्पिन थालिए- यस्तो चिसो मौसममा मनको न्यानोपन बाँड्ने कोही अन्तरङ्गीसँग भए कस्तो आनन्द हुन्थ्यो होला !
तपाइँहरुमध्ये कतिले यो मौसमलाई यस्तै अनुभव गर्नु भएको हुनसक्छ । अनि कतिले चाहिँ यो मौसमले सास्तीपूर्ण पनि बनाएको हुनसक्छ । यो पटकको भ्यालेन्टाइन डेलाई तपाइँले कसरी महसूस गर्न भ्याउनु भयो ? त्यो अनुभव हामीलाई इमेल गर्नुहोस् । त्यो अनुभवलाई क्यामेरामा कैद गर्न भ्याउनु भएको छ भने झन् सुन्दर ! हामी ती अनुभव अरुलाई पनि बाँड्नेछौँ । हाम्रो इमेल हो- valentine2007@enasha.com