अर्को सफलता ! केही महिना पहिले तपाइँलाई याद हुनुपर्छ, नेपाली सिनेमामा अहिलेसम्म नभएको प्रयोग ५.१ सराउण्ड साउण्डको मिक्सिङ गर्ने उत्तम न्यौपानेका बारेमा । उनले त्यो प्रयोग नारायण पुरीको चलचित्र 'अल्पविराम'मा सफलतापूर्वक सम्पन्न गरिसकेपछि अहिले ७.१ सराउण्ड साउण्डमा नयाँ चलचित्र 'डायमण्ड रिङ्स'को साउण्ड मिक्सिङ गरेका छन् । तर यो प्रयोग सफल भयो कि भएन भनेर उनलाई प्रमाणीकरण गर्ने कुनै पनि निकाय नभएकाले आफ्नो कामको जाँच गर्न भारतको बेंगलोर पुर्याएका छन् ।
"एक त हाम्रो देशमा ७.१ सराउण्ड साउण्ड भएको थिएटर नै छैनन्, त्यसैले त्यसको जाँच गराउन बेंगलोर पठाएको हुँ", इनशाडटकमसँगको भेटमा उनले बताए- "यो नेपाली चलचित्रका लागि अर्को उपलब्धि हुन सक्छ ।"
अहिले बेंगलोरमा डिजिटल साउण्डहरुको चलचित्र महोत्सव बेंगलोरमा आयोजन भइरहेको हुँदा एक साउण्ड इञ्जिनियरको सल्लाहले उनले आफ्नो सिर्जना पनि प्रतिस्पर्धामा पठाएका हुन् । डल्बी साउण्डका इञ्जिनियर जी एस राव घुम्दै नेपाल आइरहेको बेला उनीसँग भेट भएपछि र उनको सिर्जना हेरेपछि उनको सिर्जनालाई प्रतिस्पर्धामा पठाउन रावले नै हौस्याएका थिए ।
उनले महोत्सवका आयोजकहरुलाई शुरुमा सिनेमाको फोटो पठाएका थिए र पछि कुरियरबाट सिनेमाको पाँच मिनेटका दृश्यहरु पठाएका थिए ।
नारायण पुरीद्वारा नै निर्देशन गरिएको २० मिनेटको छोटो यो चलचित्रमा प्रकाश, श्रृङ्गार केही पनि प्रयोग भएको छैन । उत्तमले नै पहिलो पटक साउण्ड डिजाइन यस चलचित्रमा गरेका छन् ।
उक्त महोत्सवमा भेला भएका ७० चलचित्रमध्ये उनको चलचित्र उत्कृष्ट ३० मा पर्न सफल भएको र अन्तिम नतिजा आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने पनि जानकारी आफूले पाएको उत्तमले बताएका छन् ।