Home» Television »Feature

नेपाली ताराको सुटिङमा पुग्दा



- अच्युत कोइराला

'ए साँच्ची, नेपाली तारा पनि त भइरहेको छ यहाँ !' इण्डियन आइडोल सकिएपछि धेरै जना झसङ्ग भएका थिए । ती झसङ्ग हुनेहरुलाई यस पटक इनशाडटकमले प्रत्यक्ष सुटिङ रिपोर्ट पढाउने विचार गरेको छ ।

नेपाली ताराका कार्यक्रम निर्देशक राजेन्द्र शलभले मलाई स्टुडियो फोरमा ठीक तीन बजे उपस्थित भइसक्नु पर्ने जानकारी दिनु भएको थियो । म पुगेँ, साढे तीन बजे । जहाँ वाद्यवादक, गायकगायिका, कार्यक्रम प्रस्तोता त्रय सत्य, स्वरुप, ऋतु आफूलाई 'स्ट्याण्डबाई' मा राखेका थिए । कार्यक्रम निर्माता नीलबाराही फिल्म्सका रञ्जित आचार्य पनि घरि यता घरि उता गर्दैमा असिनपसिन हुनुहुन्थ्यो ।

म आइरहेको देख्ने बित्तिकै मेरा लागि छुट्याइएको सिट देखाउँदै कार्यक्रमका प्रबन्धक दिवाकर शर्माले मुस्कान छर्नु भयो । मैले छेउका सिट मागेँ र त्यही अनुसार बसेँ, जहाँ प्रिज्मा एड्भरटाइजिङकी कार्यकर्ता हुनुहुन्थ्यो । क्यामेराको कुन कोणबाट देखेर हो, राजेन्द्र शलभले मलाई फोन गर्नुभयो- "तिमी त राम्री नारीको छेउमा पो बसेछौ !" खासमा भन्ने हो भने मैले मेरो छेउमा भएका महिलातिर नजर हाल्नसमेत भ्याइसकेको थिइनँ, उहाँले राम्री नारीको छेउमा खोजीखोजी बसेको आरोप लाउन भ्याइसक्नु भएछ !

यसपछि केहीबेर अझै सुटिङमा विलम्ब भयो र आदरणीय सङ्गीतकार दीपक जङ्गमले मलाई देख्नु भयो । उहाँले बोलाउनु भयो, "धेरैपछि पो भेट भयो त !" उहाँले हात मिलाउँदै भन्नु भएको यो कुरामा गुनासो पनि मिसिएको थियो, भेट हुन छाडेकोमा । मञ्चमा राम थापा र अतिथि निर्णायक नुपूर भट्टाचार्यसँग पनि नमस्ते आदानप्रदान भयो । गायक/सङ्गीतकार राम थापासँगको चिनजान 'कामना' पत्रिकामा काम गर्दा देखिको थियो तर भट्टाचार्यसँगको प्रत्यक्ष भेट त्यहीँ भयो । जब कि भट्टाचार्यको म निकै मौन प्रशंसक हुँ ।

लुकेको माइकबाट आवाज आयो, आवाज शलभ दाइको थियो- "ल अब रोलिङ्, को कहाँबाट आउने के गर्ने, भने अनुसार गर्ने है !"

स्वागतम गरिसकेपछि कार्यक्रम प्रस्तोताद्वय स्वरुप र ऋतुले कार्यक्रमको औपचारिक शुरुवात गरे, जसका लागि तीन पटक टेक लिनु पर्‍यो ।

यो कार्यक्रममा दर्शक पनि थपिएकाले निकै रोचक भएछ । किनभने यसअघिको नेपाली तारा-१ को उत्कृष्ट पाँचको सुटिङ हेर्न म पनि गएको थिएँ र त्यसबेला आफूआफू रमाइलो मान्नु बाहेक अन्य विकल्प थिएन । यस पटक चाहिँ एक्लै रमाउनु र गाउनु पर्ने बाध्यता थिएन । साथीभाइ र छरछिमेक हेर्दै रमाउने अवसर थियो ।

दश जना प्रतिस्पर्धी मञ्चमा उभिएर परिचयात्मक गीत गाए, तिनले पर्फ पनि गरे । तर यो ज्यादै छोटो थियो र त्यति आकर्ष थिएन । पर्फ गर्दा पनि १० जना उप्रिmने र पर्फ गर्नसक्ने पर्याप्त ठाउँ देखिएन । त्यसैले खाँदखुँदमा आफ्नो नृत्य कला -हल्लिने कला भनौँ किनभने त्यहाँ कसैले पनि नृत्य देखाउने स्थिति थिएन) देखाउने अवसर थिएन । ट्रयाकमा गाएको स्पष्ट थाहा हुन्थ्यो, त्यो थाहा नदिने किसिमको भइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो । किनभने (यो उदाहरणलाई अन्यथा नलिइयोस्) एक पटक भारतीय च्यानलको एउटा कार्यक्रममा ट्रयाकमा गाएको कुरामा मेरो र मेरो दाइ अश्विनी कोइराला -उहाँ पनि कान्तिपुर साप्ताहिकको पत्रकार हुनुहुन्छ र सङ्गीतमा गहिरो रुचि राख्नुहुन्छ ।) बीच बाजी पर्‍यो । बाजीको कुरा के थियो भने मैले भनेँ, ट्रयाकमा पहिल्यै रेकर्ड गरेर यो नाटक नदेखाइएको भए बेस हुन्थ्यो । कोइराला अग्रज यसमा सहमत हुनुभएन । उहाँले भन्नुभयो- "यो उनीहरुले 'लाइभ' गाएका हुन्, रेकर्डेड हुँदै होइन ।" पछि मैले 'रेकर्डेड' र 'लाइभ' गाउँदाका फरक स्पष्ट बुझाइदिएपछि उहाँ सहमत हुनुभयो । नेपाली तारामा चाहिँ यी दश जनाले रेकर्डेड गीत गाएर पनि नृत्य राम्रोसँग प्रस्तुत गर्न नसकेकोमा दुःख लागिरहेको थियो ।

यसपछि यस अङ्कबाट बिदावारी हुने एक प्रतिस्पर्धीको नाम उच्चारण गर्ने पालो थियो । उद्घोषक स्वरुपले सूर्यकिरण लामा, सुरज थापा र तारा लक्समको नाम लिएर दुइ कदम अगाडि बढाउन आदेश दिए । यसपछि निर्णायक मण्डललाई उनीहरुबारेको प्रतिक्रिया सोधियो, जहाँ सङ्गीतकार दीपक जङ्गमले भन्नुभयो- "उहाँहरुको क्षमताबाट दर्शक भलिभाँति परिचित हुनुहुन्छ, हामीले हाम्रो काम त गरिसकेका छौँ । बाँकी जिम्मा जनताकै हो ।" यसपछि मलाई लाग्यो, यी तीन जना चाहिँ पक्कै 'बटम थ्री'मा पुगेको हुनुपर्छ । तर होइन रहेछ, बदमास स्वरुप र ऋतुले हामीलाई झुक्याएका रहेछन् । यी तीन जना त सबैभन्दा बढी मत ल्याएर उत्कृष्ट तीन पो भएका रहेछन् !

त्यसपछि साँच्चिकै बाहिरिने प्रतियोगीमध्ये 'बटम थ्री'का तीन जना उच्चारित भए, जसमध्ये सबिना, रोजिना र स्वेता थिए । लहरै तीन महिला उभिएको देखेर मलाई पनि चित्त बुझेको थिएन । निर्णायक नुपूर भट्टाचार्यले त भनिहाल्नु भयो- "यो त अन्याय नै भयो ! महिलाहरुलाई पनि पुरुषसरह नै अवसर दिनुपर्छ ।" त्यसैले उहाँको आशय पुरुषहरुलाई जत्तिकै नारीलाई पनि ठाउँ दिनु पर्‍यो भन्ने आग्रह थियो ।

पछि रोजिना र स्वेतालाई सञ्चालकहरुले बाँच्न सफल भएको र रोजिनाले मञ्च छाड्नुपर्ने घोषणा गरे । सबिनाको आँखाबाट बर्रर आँशु झरे, यो साथीहरुबाट छुट्टिनु पर्ने पीडाको आँशु थियो । यता नुपूर भट्टाचार्यको आँखाबाट पनि आँशु आए जब सबिनाले भनिन्- "अन्तिममा म यो मञ्चलाई ढोग्न चाहन्छु ।" उनको मञ्च-प्रेमबाट सबै नतमस्तक थिए । यता उनका बाँकी नौ जना साथीहरु पनि भोलिको आफ्नो नियति पनि यही हुने हो कि भन्ने सोचेर होला, निन्याउरो थिए । खासगरी तारा लक्समले सबिनाको बिदाईलाई निकै चित्त दुखाएको प्रतीत हुन्थ्यो ।

यसपछि चिया छुट्टी भयो । सबैले बोझिल बिदाईबाट केही राहत पाउन बाहिर निस्किए र मनोञ्जनको धमाकाका लागि आफ्नो 'इनर्जी' साँच्न थाले । म भने कार्यालयमा आउन हतारो मानेर कार्यक्रमका निर्देशक, निर्माता, कार्यक्रम सञ्चालक सबैसँग बिदाबारी भएँ । सुटिङ हेरेपछि मलाई के लाग्यो भने, हिम्मतिली सबिनाले बिदाईमा राम्रै गीत गाइन् । उनले 'सरसर अलि अलि वर...' गीतमा उठान त बिगारिन् तर अन्तरामा राम्रैसँग गाइन् । तर उनले गर्नुपर्ने मिहिनेतको पहाड अझै उनको अघिल्तिर तेर्सिरहेको छ झैँ लाग्यो मलाई ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रियालिटी शो नेपाली तारा रिलिज क्या बात ! प्रेम र विवाह लुकेका कुरा गायिका तातोपीरो उपलब्धि गायक रुचि कीर्तिमान कन्सर्ट सङ्गीतकार गीतकार पेज थ्री विचार विवाद भिडन्त हल्ला
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,