Home» City Life »Updates

प्रशान्त, लोकप्रियता र आलोचना



- अच्युत कोइराला

धेरैपछि मैले गुगल गुरु (गुगलडटकम) लाई सोधेँ- "गुरु इनशाडटकम वेबसाइटको लोकप्रियता कस्तो छ, बताइदिनु पर्‍यो !" मानौँ जादुइ जिन हो गुगल, केही सेकेण्डभित्रै उसले इनशाडटकमको लोकप्रियतालाई चित्रयुक्त ग्राफमा देखाइदियो । त्यो ग्राफमा खुशी हुनुपर्ने कारण दुइ वटा थिए, पहिलो- पछिल्लो समयमा यो वेबसाइटले आश्चर्यलाग्दो पाठक बटुलिसकेको रहेछ, दोस्रो- नेपालभित्र पनि यो नजानिदो तरिकाले 'सल्किसकेछ' ।

उसो भए, प्रशान्तसँग इनशाटकमको लोकप्रियताको के साइनो ? साइनो छ, त्यसैले त यत्रो भूमिका बाँधिरहेको छु । साइनो के छ भने, यो लोकप्रियता बढाउन भूमिका खेल्ने मुख्य तीन कारणमध्ये एउटा चाहिँ प्रशान्त तामाङ नै हुन् । अहिलेसम्मकै सबैभन्दा बढी पढिएका व्यक्ति वा लेख उनीबारे नै छ । यसले प्रशान्त तामाङ पछिल्लो समयमा नेपालमा अचम्मका 'जन्तु' बनेर उदाएको प्रष्टिन्छ । हुन पनि प्रशान्त 'भाग्यको छोरा' प्रमाणित भएका छन् । उनले नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीभन्दा शक्तिशाली व्यक्तित्व सोनिया गान्धीसँग भेट्ने अवसर पाए । यस्तो अवसर बिरलै व्यक्तिले पाउँछन् । उनीसँग एउटा इतिहास जोडियो- नेपालमा राजालाई पदच्यूत गरिएको ऐतिहासिक घडीमा राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै रहेका गिरिजाबाबुसँग भेट्ने अवसर पाएका छन् । एउटा बेग्लै राष्ट्रको साधारण व्यक्तिलाई यस्तो अवसर जुर्नु, सानोतिनो कुरा होइन ।

त्यसो त गिरिजाबाबुले 'भारतका शान' प्रशान्तलाई दिएको महत्वलाई केही मधेसी मित्रहरुलाई ज्यादै चर्को तरकारी महसूस भएको छ । यसको प्रष्ट झल्को २७ असोजको नेपाल साप्ताहिकमा वरिष्ठ पत्रकार रामरिझन यादवको लेख 'प्रशान्त-क्रेजले उब्जाएको प्रश्न' ले दिन्छ । उहाँको भनाइ छ- नेपाली राष्ट्रवादको गलत व्याख्याको चरम उदाहरण प्रशान्त हुन् । पहडिया मात्र नेपाली र धोती-कुर्ता चाहिँ भारतीय भन्ने पञ्चायती दुश्प्रचारको परिणाम यही हो । उहाँले उठाउनु भएको कुरा सत्य हो, प्रशान्त तामाङ इण्डियन आइडोल बनेपछि नेपालमा पर्ने आर्थिक, सांस्कृतिक र राजनीतिक प्रभाव अहिले होइन, अबका केही दशकमा मात्र देखिन्छन् । तर एउटा कुरा सत्य के हो भने, प्रतिभाशाली व्यक्तिलाई हामीले आफ्नो बनाउन कुनै कञ्जुस्याइँ गर्नु हुन्न । हिजो राजा महेन्द्रले दार्जिलिङका अम्बर गुरुङहरुलाई लोभ्याएर नै हो, आजको नेपाली सङ्गीत समृद्ध छ । अनि, भारतले उदितनारायण झालाई लोभ्याएर नै हो, सयौँ सुपरहिट सिनेमा निर्माण भएका छन् ।

विद्वानहरु भन्छन्- राष्ट्रियता दुइ किसिमका हुन्छन् । एउटा सांस्कृतिक राष्ट्रियता र अर्को चाहिँ राज्यीय राष्ट्रियता । नेपालमा प्रशान्त-क्रेजलाई हामीले सांस्कृतिक राष्ट्रियताको दृष्टिले हेर्नुपर्ने हुन्छ । भारतमा सुनीता विलियम्स र कल्पना चावलाको लोकप्रियता भारतीय नागरिक भएका कारणले बढेको होइन । ती दुवै अमेरिकी नागरिक थिए, तर तिनको जड भारत थियो । त्यसैले ती दुवै भारतमा लोकप्रिय रहे । त्यसो त 'जडको खोजी' का लागि बलिउडले राम्रैसँग लगानी गरेको थियो, सन् ९० को दशकको मध्यमा । 'दिलवाले दुल्हनियाँ ले जाऐँगे' र 'परदेश'को सफलताको उच्चतम् विन्दु नै हो 'स्वदेश'को मोहन भार्गवको नासाबाट पलायन हुने निर्णय।

यो भनिरहनु पर्दैन- नेपालमा त्यही कुराको सिको हुन्छ, जुन भारतीय मिडियाले सबैभन्दा बढी लोकप्रिय बनाउँछन् । 'कसौटी जिन्दगी की'का एउटा पात्र मर्दा मात्र नेपाली नारीहरुले खानपिन छोडेको चर्चा त्यति पुरानो भइसकेको छैन । यस्तो अवस्थामा प्रशान्त त्यसको एउटा मात्र कडी हुन् । अर्को चाहिँ उनी नेपालमा सर्वप्रिय हुनुमा सांस्कृतिक राष्ट्रियताको नाताले पनि काम गरेको हुनुपर्छ ।

सांस्कृतिक राष्ट्रियताको अर्को नमूना गएको वर्षबेलायतमा बमकाण्डलाई लिन सकिन्छ । उक्त बमकाण्डका कारण बेलायती सरकार मात्र होइन, संसार चकित बनेको थियो । कारण के थियो भने त्यस बमकाण्डमा बेलायती नागरिकहरुको नै भूमिका थियो । बमकाण्डमा संलग्न व्यक्तिहरुको खोजी गर्दा पछि पत्ता लाग्यो, त्यो काण्डमा पाकिस्तानी मूलका इस्लामहरुको हात थियो । किन बेलायती नागरिक भइकन आफ्नै देशमा बम प्रहार गरे त ? विद्वानहरु भन्छन्, यो सांस्कृतिक राष्ट्रियता नै थियो, जसका कारण त्यो बमकाण्ड घट्न पुग्यो । सांस्कृतिक राष्ट्रियताको अर्को सर्वोत्कृष्ट उदाहरण इजरायलको स्थापनालाई लिन सकिन्छ । यदि सांस्कृतिक राष्ट्रियता नभएको भए इजरायल राष्ट्र बन्ने थिएन । सांस्कृतिक राष्ट्रियताका फाइदा बेफाइदा आफ्नै किसिमका छन्, प्रशान्तलाई भने सांस्कृतिक राष्ट्रियताको फाइदा मिलेको भने पक्कै हो । त्यस्तै उदितनारायण यदि मैथिल नभएका भए उनले बम्बईमा सफलता पाउन गाह्रै थियो ।

सांस्कृतिक राष्ट्रियतालाई भारतले राम्रैसँग उपयोग गरेको छ, धनाढ्य एनआरएनहरुलाई भारतमा आउन लोभ्याएर । हामीमध्ये धेरै भारतको सिको गर्र्छौँ । सरकारले पनि यही उपाय अपनाए के होला ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
कीर्तिमान सेलेब्रिटी माओवादी संविधानसभा हल्ला मोबाईल awards hi-life streets पेट्रोल crisis अनुभव समलिङगी celebrity festival events
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,