Home» Life Style »Body and Mind

सम्झनाको लहरमा केहीबेर

- सामीप्य तिमल्सिना

हिजोआज हरेक कुरा चाँडो चाँडो बद्लिइरहेका छन् । बद्लावको यो श्रृङ्खला वस्तुबाट विचारसम्म र विचारबाट चेतनासम्म चलिरहेको छ । विगतका कतिपय मूल्य, मान्यता, संस्कार आज हाम्रालागि आउट डेटेड भएका छन् । हामी विगतका यस्ता कुरालाई नमान्दा आफूमा भयङ्कर क्रान्तिकारी भएको महसूस गर्र्छौँ ।

मलाई सम्झना छ, आजभन्दा दश बाह्र वर्षघि गाउँघरमा ढोका खुलै राखेर हिँड्दा पनि कुनै अनिष्टताको कल्पना गर्न सक्तैनथ्यौँ । मूल ढोकामा ताल्चा लगाउनु पर्दैनथ्यो । ढोकामा सिक्री लगाउनुको मतलब हुन्थ्यो, कुकुरहरु घरको मझेरीसम्म नपुगून् । तर त्यतिबेला कुकुरहरु पनि यति इमान्दार हुन्थे कि घरको मूल ढोका काटेर सकेसम्म पस्दैनथे र पसिहाले पनि ओर्याइँ गर्दैनथे । आज अवस्था एकदम बद्लिइसकेको छ । आजभोलि घरको के कुरा, आफूनै सही सलामत घर पुगिएला कि नपुगिएला भन्ने ठेगान हुन्न ।

परिवर्तन प्रकृतिको शाश्वत नियम हो । विज्ञानले गरेको चमत्कारिक प्रगतिले आजको जीवन धेरै सहज बनेको छ । महिनौँ हिँडेर नपुगिने बाटो हामी क्षणभरमै काट्न सक्छौँ । संसारको जुनसुकै ठाउँका बारेमा जानकारी लिन सक्छौँ । शाश्वत परिवर्तनले दिएका यस्ता धेरै उपहारहरु उपभोग गर्न पाएकोमा हामी विज्ञानप्रति अनुगृहित छौँ पनि । तर यो क्रममा हामीले त्यो महत्वपूर्ण चिज गुमाएका छौँ, जसलाई हामी विशेष अवस्थामा मानवता भनेर सम्झन्छौँ ।

मेरो आफ्नै कुरा गरौँ । पहिले पहिले बटुवाहरुले पानी खान माग्दा म आफैँले कतिलाई हार्दिकताका साथ मोही खुवाएर पठाएको छु । म जुन ठाउँमा हुर्किएँ बढेँ (खोटाङ जिल्ला), त्यो ठाउँमा पानी लिनका लागि एक घण्टाको ओरालो बाटो हिँड्नु पर्दथ्यो । पानी लिएर फर्कँदा झन् गाग्रीको भारीसहितको उकालो ! बाटोको घर थियो हाम्रो । तिर्खालु बटुवाहरुको सधैँ घुइँचो । बिहानभरि पानी बोकेर दिउँसो काममा गएर र्फकँदा गाग्री रित्तै । तर एक दिन पनि बटुवालाई पानी खुवाएर सकियो, हामी पानी बोक्न सक्तैनौँ भनेर घरका स्त्रीले प्रतिवाद गरेको सम्झना छैन मलाई ।

तर आज मौका परे एक थोपा पानीको पनि पैसा लिन पछि पर्दैनौँ हामी । त्यसैले कहिलेकाहीँ आफैँलाई धिक्कार लाग्छ, यति धेरै परिवर्तन हुनु परेकोमा । त्यसैले कहिलेकाहीँ प्रश्न उठ्छ, के असल मूल्य मान्यता, परोपकार, दयाको भावनालाई तिलाञ्जल नदिइकन आजको वैज्ञानिक श्रेष्ठताको भोग गर्न पाइँदैनथ्यो ? भौतिकवादी हुनलाई मानवतावादको घाँटी नै निमोठ्नु पर्ने थियो ? किन यी दुवै कुरा काँधमा काँध मिलाएर जान सक्तैनन् ? परिवर्तनको यो कस्तो महंगो मूल्य तिर्नुपरिरहेको छ, जहाँ हामीले आफूले आफैँलाई खोज्नु परिरहेको छ ।

म यो भन्दिनँ कि आज हामी कसैलाई दयामाया गर्दैनौँ, स्नेह, सद्भाव गदैनौँ, गर्र्छौँ तर ती सबैलाई आफ्नो अहंकारी स्वरुपसँग समतुल्य बनाएर हेर्र्छौँ वा भनुँ त्यसमा स्वाभाविकता देखिन्न । जस्तो हामी अचेल के गर्र्छौँ भने हाम्रो केही आफन्तको स्वर्गारोहण भयो भने स्वर्गारोहण हुनेको भन्दा ठूलो फन्टमा आफ्नो नाम राखेर पत्रिकामा श्रद्धाञ्जली छपाउँछौँ । हामीले गर्ने प्रेम पत्रिकामा श्रद्धाञ्जलीको विज्ञापनबीच कस्तो सम्बन्ध हुन्छ, बुझ्न सकेको छैन मैले । तपाइँले कसैलाई स्नेह गर्नुहुन्छ भने त्यो दुनियाँलाई बताइरहनु पर्छ ।

कतो हो, एउटा कथा पढेजस्तो लाग्छ, एउटा गाउँ थियो । त्यहाँका मान्छेहरु खान, लाउन पाए पनि दुःखी थिए, असन्तुष्टीका कारण । त्यही गाउँमा एउटी बूढी महिला पनि बस्तथिइन् । जो अरुका लुगा सिलाएर जीविका चलाउँथिन् । एक दिन जुनेली रातमा उनले आँगनमा आफूले लुगा सिलाउने सियो हरायो भनेर कोकोहोलो मच्चाइन् । सारा गाउँले भेला भएर सियो खोज्न थाले तर सियो मरिगए भेटिएन । थकित भएर मान्छेले बूढी महिलालाई सोध्यो- "तपाइँको सियो आँगनमा कसरी हरायो ?"

बूढी महिलाले भनिन्- "भित्र बसेर लुगा सिउँदै थिएँ, यसो काम परेर उठेँ तर फर्किँदा त सियो बेपत्ता ! बूढी महिलाको यो कुरा सुनेर सारा गाउँले रिसाउनसम्म रिसाए । भित्र हराएको सियो घरबाहिर खोजेकोमा खिल्ली उडाए । त्यतिबेला महिलाले गाउँलेलाई यत्ति मात्र भनिन्- "मैले तिमीहरुलाई यही कुरा बुझाउन खोजेकी । जुन वस्तु जहाँ हराएको हो, त्यही खोजे मात्र भेटिन्छ ।" महिलाको यो कुरा सुनेर गाउँलेहरुको शीर तिनप्रति नतमस्तक भयो ।

आज हाम्रो अवस्था ती अज्ञानी गाउँलेको जस्तै छ । हामी त्यो ठाउँबाट र त्यो माध्यमबाट सुख खोजिरहेका छौँ, जसले आफ्नोपनलाई वास्ता गर्दैन । आज हामी सुखका लागि डान्स क्लब, रेष्टुराँ र नजाने कहाँ कहाँ जान्छौँ । तर कोही भोको मान्छेलाई पेटभरि खुवाएर त्यसबाट पाउने आनन्द, शुभाशिष लिन चाहँदैनौँ । आखिर किन बद्लिइरहेका छौँ हामी ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Body and Mind
Related Tags:
अनुभव memories marriage know women fun read gifts dating attracting guys divorce sex attracting girls cheating ex-love personal infidelity tips honeymoon know men flirting family
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,