Home» Cinema »Biography

भाग्यको भेल र अभिनयको आशक्ति


मोरङ, मधुमल्ला-५, कसनीका ओमप्रकाश निरौलालाई पछिसम्म थाहा थिएन, उनी देशको ग्ल्यामर उद्योगमा थोरबहुत नाम कमाउन आइपुग्छन् भनेर । तर सानो उमेरमा गाउँमा नाटक लेख्ने, खेल्ने र निर्देशन गर्ने गरेको बानी काम लाग्यो । उनले गाउँमा मुग्लान नाटक लेखेका थिए, खेलेका थिए र निर्देशनसमेत गरेका थिए । उनको यो शोखले त्यतिबेला मूर्त रुप लिन पुग्यो, जब कलेज पढ्न उनी काठमाडौँ आए र आफ्नै मामाका छोरा किशोर सापकोटाले चलचित्र उद्योगमा गाँसिएका नगेन्द्र घिमिरेलाई चिनाइदिए । यी नगेन्द्र त्यसबेला निर्देशक अशोक शर्माका चलचित्रका लागि निर्माण नियन्त्रकको काम गर्थे ।

पहिलो भेटमा नै अशोक शर्माले उनको नयाँ चलचित्र निरमायामा सहायक निर्देशकको जिम्मेवारी दिए । उनले निरमायाका मुख्य सहायक निर्देशक सानु श्रेष्ठको सहायकका रुपमा उनी सिनेमा उद्योगमा छिरेका थिए । शुरुवात हुनु मात्र त थियो, उनको सूचकाङ्कमा बिहानी, जमीनलगायत थुप्रै चलचित्र जोडिए ।

बीचमा उनले चलचित्र क्षेत्र त्याग्ने प्रयास नगरेका पनि होइनन् । उनले बोर्डिङ स्कूलमा पनि पढाए । तर जब एक्कासि बाघ निर्देशक प्रकाश थापाको चलचित्र नाता रगतको लागि मुख्य सहायक निर्देशकको जिम्मेवारी आइपुग्यो- चलचित्र मोह त्याग्न सकेनन् । यस्ता निर्देशकसँग आफ्नो नाता जोडिनु श्रेयस्कर ठानेर शिक्षण त्यागिदिए । उनी नाता रगतकोमा गाँसिएका के थिए, मानौँ भाग्यसँग उनको आमनेसामने भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

प्रकाश थापासँग गाँसिएका मात्र के थिए, उनलाई यादव खरेल (आदिकवि भानुभक्त), रमेश बुढाथोकी (अप्सरा), दीपक रायमाझी (परेली) जस्ता चल्तीका निर्देशकसँग जोडिने अवसर जुर्‍यो ।


टेलिसिरियल
रमेश बुढाथोकीसँग अप्सरा चलचित्रमा उनी गाँसिएपछि बुढाथोकीले दुइ दिनको जिन्दगीमा पनि साथ लिए । यो सिरियल नेपाल टेलिभिजनमा निकै लोकप्रिय बन्यो । त्यसपछि नेपाल वन टीभीले भारतीय निर्देशकलाई लिएर कसलाई आफ्नो भनुँ शुरु गर्‍यो तर भाषा र संस्कृतिको ज्ञानको अभावका कारण उनले सिरियल त्यागे तर भाग पर्‍यो रमेश बुढाथोकीको पोल्टामा । निर्देशक रमेशले ओमलाई यति भरोसा गरेका थिए कि उनी महिनौँ कसलाई आफ्नो भनुँको सेटमा नआए पनि ओमले सिरियलको रोचकतामा कमी हुन दिएनन् ।

कसलाई आफ्नो भनुँ यस्तो अवस्थामा शुरु भएको थियो, जतिबेला नेपालमा चलचित्र बन्न निकै कम भइसकेको थियो । माओवादीको सशस्त्र आन्दोलन उत्कर्षमा थियो र चलचित्र उद्योग ओरालो लागिसकेको थियो । यस्तो अवस्थामा कसलाई आफ्नो भनुँ सिरियल कलाकार, निर्देशक र प्राविधिकका लागि सञ्जीवनी बन्यो । ओमले पनि महिनाको २५ दिन सुटिङ पर्दा पनि यसलाई अनुभवको ज्ञानकोष (डिक्सनरी) का रुपमा प्रयोग गरे । एक शिफ्टमा उनले ५० भागसम्मको काम गरे । "त्यो बिल्कूल अद्भूत् अनुभव थियो", उनी अहिले सम्झन्छन्- "फिल्म मेकिङको डिक्सनरीको काम गर्‍यो, यसले ।"

बीचमा माघ १९ को राजाको कदम (२०६२) पछि नेपाल वनले माओवादी-सेना भिडन्तलाई समाचारमा सेनाको हार देखाएपछि टीभी पनि 'कू'मा पर्‍यो । लामो समय बन्द रहेको नेपाल वनबाट प्रसारण हुने कसलाई आफ्नो भनुँका निर्देशक, प्राविधिक र कलाकारलाई रोजगारीको फिटफिटी पर्दा पनि ओमलाई भने त्यो समय आफ्नो सम्पर्क विस्तार गर्ने समय बन्न पुग्यो, भन्छन्- "त्यो बन्द भएपछि मेरो सम्पर्क टुटेका अनेकन साथीका लागि समय दिनसक्ने भएँ । यसले मलाई अन्यतिर काम गर्ने अवसर जुराइदियो ।"

कसलाई आफ्नो भनुँ बन्द भएपछि उनले आफ्नो डिग्रीको पढाइलाई पुनः जारी राखे तर उनले जाँच पनि दिन पाएनन्, टीभी सुचारु हुन थाल्यो । तर टीभीले आफ्नो च्यानल बन्द हुँदाको फाइदा निकाल्न सिरियललाई १५ मिनेटमा सीमित गरिदियो । यसपछि उनले आफ्नो समय सदुपयोग गर्न अन्य सिरियलहरु गरे । जस्तो, उनलाई करुणा सिरियलबाट अफर आयो, अहिले त्यसमा पनि व्यस्त छन् ।

करुणा कसलाई आफ्नो भनुँ गर्दागर्दै श्याम भट्टराईले दुइ थोपा आँशु नगर्ने भए । भट्टराई ठूलो पर्दाको चलचित्र मर्यादामा व्यस्त भएपछि र सिरियलको लोकप्रियता खस्कन थालेपछि निर्माता जनकदीपले ओमलाई श्रृङ्खलामा घुसाए । यसपछि उनले दुइ थोपा आँशुलाई ५२ भागसम्म पुर्‍याएर अहिले आफ्नै प्रडक्शन कम्पनी खोलेर आफ्नै लगानीमा नयाँ श्रृङ्खला बनाउन लागिपरेका छन् ।

सिनेमा
करुणा सिरियल हिट हुँदै जाँदा त्यस श्रृंखलाकी निर्मात्री मेलिना मानन्धरलाई ठूलो पर्दाका लागि चलचित्र बनाउने हिम्मत गरिन् । उनले करुणा सिरियलका निर्देशक महेन्द्र बुढाथोकीको समेत आर्थिक सहयोगमा चलचित्र बनाउने भएपछि ओमलाई निर्देशनको जिम्मेवारी सुम्पिइन् । अहिले ज्वालामुखी दशैँनिर प्रदर्शन हुने तयारीमा छ ।

ज्वालामुखी डिजिटल फरम्याटमा बनेकाले आफूलाई कुनै गाह्रो नभएको उनको धारणा छ । त्यसो त दर्जन चलचित्रहरुमा सहायक निर्देशन गरिसकेकाले पनि उनलाई पहिलो निर्देशकीय प्रयास खासै अनुभवयुक्त नभएको बताएका छन् । जतिसुकै काम गरे पनि चर्चामा नआउने उनलाई ज्वालामुखीको प्रदर्शनपछि चाहिँ आफ्नो चर्चा होला भन्ने लागेको छ ।

पहिलो निर्देशन

ज्वालामुखी चलचित्रमा उनले महेन्द्र बुढाथोकी र मेलिना मानन्धरले आफ्नो खुबी प्रयोग गर्न खुला छुट दिएकाले हुनसक्छ, अन्य चलचित्रभन्दा राम्रो नै बनाएको अनुभव गरेका छन् । नारीप्रधान सामाजिक चलचित्र भए तापनि प्राविधिक रुपमा सशक्त र मेलिनाको मारधाडले दर्शक तानिने कुरामा उनी विश्वस्त छन् । यस्तै प्रविधिमा बनेको आँधितुफानले बजारमा राम्रै कमाइ गरेकाले पनि उनलाई आफ्नो चलचित्रप्रति विश्वास जागेको हो । भन्छन्- "आँधितुफानको व्यापारले त्यस्तै किसिमको अर्को चलचित्रलाई पनि प्लस गर्छ भन्ने मलाई लाग्छ ।"

यस चलचित्रप्रति मेलिनाको उत्साह कस्तो थियो भने उनले केही महिना त मारधाडका लागि विभिन्न किसिमका प्रशिक्षणसमेत लिएकी थिइन् । मेलिनाको भेषभुषा र नयाँ शैलीका कारण दर्शकले यस चलचित्रलाई रुचाउने ओमको धारणा छ ।

कसलाई आफ्नो भनुँदेखि उनले एकल रुपमा आफ्नो शोच र शैली प्रयोग गरेर टेलिश्रृङ्खलालाई लोकप्रिय बनाए पनि उनको नाम पूर्ण रुपमा निर्देशकका रुपमा आउन पाएको छैन । तर लय संग्रौलाले निर्माण गरेको र उनले निर्देशन गरेको ठूल्नानीबाट आफू पूर्ण निर्देशकको रुपमा टीभी पर्दामा देखिने उनको धारणा छ ।

अभिनयका कुरा
पहिलो पटक उनले अभिनय परदेशी कान्छामा हास्य चरित्रमा गरेका थिए । तर त्यति चर्चामा आएनन् । उनले अन्य चलचित्रमा पनि अभिनय गरेका थिए तर त्यो त झनै असरदायक रहेन । तर दुइ दिनको जिन्दगानी सिरियलमा हुल्याहा चरित्रको भूमिका गरेपछि उनलाई त्यसमा सुहायो । रमेश बुढाथोकीले त उनको भूमिकालाई बढाएर उनको प्रतिभालाई प्रष्फुटित गरे । त्यसपछि सिन्दूर अनि करुणामा उनलाई नै भनेर भूमिका लेखियो । त्यसमा भएको लोकप्रियताले उनको भूमिका कसलाई आफ्नो भनुँमा समेत आइपुग्यो र तीन सय भागसम्म उनी देखापरिरहे ।

तर उनलाई अभिनय आफ्नो गन्तव्य लाग्दैन । बरु निर्देशनमा नै उनले आफ्नो क्षमता देखेका छन् । त्यसैले त अरुका टीभी श्रृंखला र चलचित्रहरु बनाउँदा बनाउँदै र खेल्दाखेल्दै आफ्नो पृथक् पहिचान गुमाएँ कि भन्ने आशङ्कालाई मेट्न आफ्नै लगानीमा टीभी श्रृंखला बनाउने अन्तिम तयारीमा छन् उनी । साइनो नामबाट बन्न लागेको यो श्रृङ्खलाबाट उनलाई अलि बढी नै आशा छ । अब हेर्नुछ, उनको आशा पूरा हुन्छ कि हुँदैन !


सहायक निर्देशक भएका फिल्महरु

नीरमाया (निर्देशक अशोक शर्मा)
बिहानी (निर्देशक जगत भुर्तेल)
जमीन (निर्देशक प्रकाश सायमी)
परदेशी कान्छा (
निर्देशक अशोक श्रेष्ठ)
विश्वासघात (
निर्देशक नवल खड्का)

मुख्य सहायक निर्देशक
नाता रगतको
अप्सरा
जिद्दी
यस्तै हुन्छ पिरती
प्रेमयुद्ध
बाबुसाहेब
लगनगाँठो

सिरियल
दुइ दिनको जिन्दगानी
कसलाई आफ्नो भनुँ
पुष्पाञ्जली
करुणा
दुइ थोपा आँशु

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
अभिनेता श्रृङ्खला हल्ला र वास्तविकता भीडबाहिर अभिनेत्री रियालिटी शो निर्माता रमाइलो नयाँपन विदेशमा भित्री कुरा
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,