Home» Music »Feature

एउटा प्रेमी गायकको बयान


म २७ सालमा पोखरामा जन्मिएँ, जाडो यामको पुस २७ मा । त्यो दिन पृथ्वी जयन्ती थियो (अहिले त मनाइन छाडियो) । पाँच छोरा थिए मेरो घरमा र दुइ छोरी । म तेस्रो नम्बरको थिएँ । मेरा सानीमा र ठूली आमा धार्मिक हुनुहुन्थ्यो । बढी सङ्गत उहाँहरुसँगै भयो । किनभने उहाँहरुसँग जाँदा म हार्मोनियम छुन पाउँथें, भजन गाउन पाउँथें । उहाँहरुले पनि मलाई हौस्याउनु हुन्थ्यो ।

हाम्रो पसल थियो, खित्रिङ मित्रिङ बेच्ने । त्यसैले पैसाको अभाव कहिल्यै भएन । म ज्यादा रेडियो सुन्थेँ । रेडियोमा आएका नारायणगोपाल, अरुण थापाका स्वर मलाई कण्ठस्थै हुन्थे । सुनेका लय र शब्द मलाई तु. आउँथे । अधिकांश समय म क्यासेट र रेडियो सुन्थेँ । बाँकी कुरामा मलाई पेन्टिङ गर्न औधि मन पर्दथ्यो । पेन्टिङ गर्दा मूलतः म मान्छेका अनुहारहरु बनाउँथें । शायद पेन्टिङको कमाल हुनुपर्छ- मेरो अक्षर अझै पनि सुन्दर छन् ।

म राम्रो बाँसुरीवादक थिएँ । तर एक दिन लोचन दिदीले (भट्टराई) गायकले बाँसुरी बजायो भने स्वर धोद्रिन्छ भन्ने सुझाव दिनुभएपछि गायक हुने महात्वाकांक्षी मैले त्यो पनि छाडिदिएँ । बाँसुरी बजाउन छाड्नुको अर्को कारण पनि थियो । रेडियोमा सबैको नाम भन्थ्यो- गायक, गीतकार र सङ्गीतकारको । तर यो गीतको बाँसुरीवादक फलानो भनेको कहिल्यै सुनिनँ । त्यसपछि मलाई लाग्यो, नामै नआउने विधामा म किन ऊर्जा सिध्याऊँ !

म फूटबल खेल्थेँ । तेक्वान्दो रुचाउँथेँ । फूटबल चाहिँ किन छाडेँ भने, एक दिन गोलकिपर बसेको थिएँ । फूटबलले मेरो औँलै भाँचिदियो, मानौँ धेरै दिनदेखिको रिस सबै पोखिदिएको होस्, त्यसले ! मैले पनि त्यही दिनदेखि कसम खाएँ, फूटबलको 'फ' पनि खेल्दिनँ । त्यस्तै, तेक्वान्दोको प्रसङ्ग पनि मेरो जीवनमा रोचक बनेर रहृयो । म राम्रो खेलाडी थिएँ, तेक्वान्दोको । तेक्वान्दोले फूर्ति दिन्छ, शक्ति दिन्छ । तर त्यो शक्ति कतिखेर कहाँ प्रयोग गरुँ हुँदोरहेछ मान्छेलाई ! एक दिन त्यो शक्ति प्रयोग गर्न हामीहामीबीच 'ग्याङ फाइट' भयो । यो फाइटका कारण मेरो टाउकोमा चोट लाग्यो । म अस्पताल भर्ना भएँ । त्यसै दिनदेखि मैले तेक्वान्दो पनि त्यागे ।

यसरी हेर्दा मैले जीवनमा आएका धेरै कुराहरु त्याग्दै गएको देख्छु । बाँसुरी त्यागेँ, फूटबल त्यागेँ, तेक्वान्दो त्यागेँ, पेन्टिङ त्यागेँ । ती सबैमा मेरो सम्भावना थियो, मैले नाम र दाम कमाउन सक्थेँ । एउटा इज्जतिलो जिन्दगी धान्न सक्थेँ । तर मैले ती सबै क्रमशः त्यागेँ तर गायन त्यागिनँ ।

म गायनमा जम्न २०५५ सालले ठूलो भूमिका खेलेको छ । त्यसै वर्ष राष्ट्रव्यापी रुपमा आयोजित आधुनिक गीत प्रतियोगितामा म प्रथम भएँ । यो खुशी कस्तो खुशी रह्यो भने तीन दिन त निदाउनै सकिनँ, खुशीले ! त्यो दिन म अझै सम्झन्छु । ६२ जना प्रतिस्पर्धामा थिए, मेरो नम्बर ४२ औँ नम्बरमा थियो । अरुका गीत प्रत्यक्ष प्रसारणमा सुन्दै म प्रतियोगितामा भाग लिन गएको थिएँ । तर किन हो, मलाई चाहिँ केही न केही टाइटल जित्छु भन्ने लागिरहेको थियो तर प्रथम नै हुन्छु भन्ने थिएन ।

नाम कमाएपछि मलाई तत्काल एउटा भिडियो फिल्ममा सङ्गीत दिने प्रस्ताव आयो । 'तिम्रो कसम' (२०५७) को बार स्टुडियो पोखरामा रेकर्ड भइरहेको थियो । त्यहाँ एक जना केटी आइन् । स्वर निकै मीठो लाग्यो तिनले गाएकी थिइन्- जिन्दगी नै उदास मेरो । यसपछि मैले उनलाई प्रमोट गर्ने निधो गरेँ । यसपछि मैले उनलाई फूलबारी रिसोर्टमा गाउन अनुरोध गरेँ । तर उनको घरमा निकै करले मात्र स्वीकृति दिइएको थियो । मैले उनलाई पोखरा एफएमका विभिन्न कार्यक्रममा कार्यक्रम सञ्चालन गर्न पनि उत्प्रेरित गरेँ । गर्दै जाँदा बसिबियाँलो, ब्लास्ट फ्रम द पास्ट, तपाइँको रोजाई हाम्रो आवाज, बरपिपल जस्ता कार्यक्रम हामीले सँगै गर्‍यौँ ।

राति अबेरसम्म फूलबारी रिसोर्टमा सँगै गाइन्थ्यो, त्यसपछि बिहानदेखि मध्य दिउँसोसम्म कार्यक्रम सँगै चलाइन्थ्यो । वरपर चाहिँ हाम्रो 'लभ' पर्‍यो भनेर कुरा काट्दा रहेछन् ! पछिसम्म मलाई थाहा थिएन, उनी नै मेरो जीवनसङ्गीनी हुन् । म त केसम्म भन्थेँ भने, म ब्रह्मचारी हुन्छु । तर घरका मान्छे मेरो ब्रह्मचर्य तोड्न प्रतीज्ञ झैँ थिए ।

एक दिन मलाई झुक्याएर केटी हेर्न कहीँ पठाइयो । त्यहाँ पुगेपछि मलाई लाग्यो, बिहे त गर्नुपर्छ तर मेरो पेशा र भावना नै नबुझ्ने केटीसँग किन बिहे गर्ने ? त्यसपछि सँगै हिँडेको छेउकै साथी, जोसँग विगत दुइ वर्षसम्म सँगै गाइयो, सँगै कार्यक्रम चलाइयो- उनलाई सोधेँ, "के तिमी मसँग बिहे गछ्र्यौ -" उनको अनुहार रिसले रातो भयो । "यस्तो प्रश्न किन गरेको ? मैले त तपाइँलाई कहिल्यै त्यस्तो नजरले हेरेको छैन", उनको प्रतिक्रिया रहृयो । "तर अबदेखि सोच, अबदेखि त्यही नजरले हेर", मेरो आग्रह थियो । उनको माइतमा त यो प्रस्तावलाई शुरुमा रुचाइएन तर पछि उहाँहरु सकारात्मक हुनुभयो ।

हाम्रो बिहेको दोस्रो महिनादेखि नै जाउँ है पोखरा (२०५९) टूर थियो । जहाँ हामीले मज्जाले हनिमून मनायौँ । विराटनगर, धरान वीरगंज, काठमाडौँको यो टूरले हामी दुवैलाई मज्जाले गाउने अवसर दियो । फूलबारी रिसोर्टमा काम गर्दागर्दै गएको तीन वर्षघि नयाँ वर्षो दिनमा अन्नपूर्ण होटल (काठमाडौँ) मा हामीलाई गजल गायकका रुपमा नियुक्त गर्‍यो । अहिले हामी दुवै जना त्यहीँ सन्तुष्ट छौँ ।

केही समयअघि हामी दुवैको गीति एल्बम चयन (२०६४) बजारमा आयो । यसको व्यापार सन्तोषजनक नै छ । तर नयाँ एल्बमका काम पनि साथमै चलिरहेको छ । हामी दुवैले सङ्गीतकार किरण कँडेलसँग मिलेर चिनो निकाल्दैछौँ । प्रकाश सायमी, अनील शाहीसँग मिलेर त्यो कहिले घाम एल्बमको काम भइरहेको छ । यसअघि बेस्ट अफ रामभक्त जोजिजु (२०६३), चरणामृत (२०६२), जोजिजु ब्रदर (२०५८), लक्ष्य (२०५७), भाग्य (म्युजिक नेपाल), सुमिरण गर हरिको नाम (२०५६) जस्ता एल्बम बजारमा आइसकेका छन् । समग्रमा मेरो सङ्गीत यात्रा सन्तोषजनक छ । मलाई अहिले स्रोताले लोक आधुनिक, फ्यूजन, गजल तथा मधुर मेलोडीयुक्त गीतका लागि चिनिसक्नु भएको छ ।

यो अलग कुरा हो, सङ्गीतमा २०६३ सालमा स्वर्ण पदक पाएँ, असल जीवनसाथी इतुलाई पाएँ, तपाइँहरुजस्ता श्रोता पाएँ तर मेरो महत्वाकांक्षा यत्तिमै सेलाएको छैन । सङ्गीतका माध्यमबाट समाजसेवा गर्ने मेरो अनेक योजनाहरु थाती नै छन् । बस् मात्र तपाइँको हौसलाको खाँचो छ । मलाई चिन्नु भयो ? मेरो नाम रामभक्त जोजिजु क्या त !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
प्रेम र विवाह गायक सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो क्या बात ! ट्रयाक बाहिर अवार्ड नेपाली तारा उपलब्धि भिडन्त विचार पेज थ्री रुचि गायिका गीतकार कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,