Home» Music »Feature

लोपोन्मुख ठाडोभाका ब्यूँताउँदै



आधा उमेर बितिसक्दा पनि बुद्धिमान गुरुङलाई यो उमेरमा ठाडो भाकामा गाउँ उचाल्ने गरी गाउँला भनेर कहिल्यै सोचेका थिएनन् । २०१२ साल वैशाख ५ मा लमजुङ जिल्लाको सिन्धुरे- १ स्थित मैगामा टाकबहादुर दुरा र बालु दुराका सन्तान भएर जन्मिएका बुद्धिमानले १७/१८ वर्षको उमेरसम्म पनि लमजुङ जिल्लाकै प्रतिनिधित्व गर्ने 'ठाडो भाका' मनपर्ने गीति विधा मान्दैनन्थे । तर एक पटक उनलाई उर्लंदो वैशमा यसमा रुचि जागेपछि ठाडो भाका जीवनको नशा बन्यो ।

आफ्नो स्वर आफैँलाई मन नपर्ने भएपछि लुकीलुकी आफ्नै लागि मात्र गाएर हिँडेका बुद्धिमानको गीतको भाका अनुसार भावभङ्गिमा बनाउने खुबी, नृत्यमा पारङ्गतता र लय मिलाउन सक्ने प्रतिभाका कारण गाउँगाउँका जनताले उनलाई माया गरे, मन पराए । त्यो माया मार्न नसकी उनी लमजुङ वरपरका विभिन्न जिल्ला, शहर, गाउँ, टोलमा गाउँदै हिँडेका थिए । तर बीचमा आफ्नै जीविका र अन्य पारिवारिक समस्याका बीच उनले गाउन छाडे ।

अहिले २० वर्षको गायन 'ग्याप'लाई बिर्सिएर नेपालमा लोप हुन लागेको ठाडो भाकाको संरक्षणका लागि गाउँगाउँ डुलिरहेका छन् । गाउँगाउँमा पनि शैक्षिक उन्नति, आर्थिक उन्नति र अन्य कारणले ठाडो भाका लोप हुँदै गइरहेको पाएपछि अहिले उनी यसको संरक्षणमा लागिरहेका छन् ।

ठाडो भाकालाई लोकप्रिय बनाउने भेडी खर्के साइँलोका समेत प्यारा शिष्यका रुपमा परिचित बुद्धिमान गुरुङ ठाडो भाकाका लागि मात्र होइन, घाँटु, सोरठी, आरगाउँ, राग तालका समेत ज्ञाताका रुपमा चिनिएका छन् ।

के हो ठाडो भाका ?

डेढ सय वर्षअघि नेपालमा मनोरञ्जनको कुनै साधन नभएका बेला मेलापातमा गाउने र रमाइलो गर्ने चलन थियो । त्यो बेलामा करपुटार बजारमा लाग्ने मेलामा देउबहादुर दुराले सिर्जना गरेको भाकालाई इतिहासकारहरुले ठाडो भाका भन्ने गरेका छन् । उनले त्यो बेला लाग्ने तीन दिने मेलामा तीन दिन तीन रात गाएर सबैलाई चकित बनाइदिएका थिए ।

व्यापार गर्ने सिलसिलामा देउबहादुर दुरा कहिले भोट त कहिले भारतको गोरखपुरसम्म पुग्ने गर्दथे । आफू जहाँजहाँ गयो, यो भाका त्यहीँत्यहीँ गाउनाले उनले मध्य नेपालका अधिकांश भागमा यो भाकालाई लोकप्रिय बनाएका थिए । उनीसँग गाउन र झुम्मिन महिला तथा युवतीहरु हत्ते गर्दथे । गायक-गायिका मात्र यो गीति भाकामा सक्रिय नभई दर्शक र श्रोता पनि सक्रिय हुन पाउने भएका कारण यो अन्य गीतिशैलीभन्दा लोकप्रिय हुन पुगेको विज्ञहरुको धारणा छ ।

अहिले यो भाकाका सबैभन्दा विज्ञका रुपमा भेडिखर्के साइँलोलाई चिनिन्छ । ज्यादै वृद्ध भइसकेका कारण आफूपछि यो गायन शैलीलाई जीवित राख्ने व्यक्ति नहोला भन्ने चिन्ता र पीर रहेकै बेला कुना पसेका बुद्धिमान बाहिर निस्किएका छन् ।

बिर्सन नसकिने क्षण

बुद्धिमान आफू उतिसाह्रो क्षमतावान नभएका कारण लाजमान्दै गर्दा कला र संस्कृतिप्रति हुरुक्क हुने पोखराका अर्का कर्मशील व्यक्तित्व केशबहादुर गुरुङले उनलाई गाउन र संस्कृति संरक्षणका लागि हौस्याए । यही क्रममा उनले ७२ वर्षीय बजैसँग आमा-छोरा भएर गीतिमञ्चन गर्दा लगभग डेढ दिन बितेको पत्तो भएन । त्यति मात्र होइन, आमा-छोराको सम्बद्ध गीत गाउँदै जाँदा दुवैको कलाले दर्शकहरुलाई यति छोयो कि ती गीतको भावसँगै कहिले रुने त कहिले हाँस्ने गर्दथे ।

यस्तै अनुभव उनलाई केही समयअघि दमौलीमा पनि भयो । आफूभन्दा केही उमेर खाएकी एक जना महिलासँग उनले गाउँदा गाउँदै कतिखेर १२ घण्टा बित्यो भन्ने पत्तै पाउन सकेनन् ।

यस्तो सुरुचिसम्पन्न हाम्रो गीति विधा अबका केही वर्षमै हराउने पो हो कि भन्ने उनलाई ठूलो चिन्ता छ । त्यसैले सम्बन्धित पक्षले यसको संरक्षणका लागि पहल गरिदिए आफ्नो पुस्तापछि पनि यो विधा रहिरहने थियो भनी उनी चिन्ता व्यक्त गर्छन् ।

आफ्नै उमेरमा पनि यो गीतिविधाका बारेमा संसारभर जानकारी दिने उद्देश्यले साढे दुइ घण्टाको गीतिभिडियो तयार पारेका छन् । केशबहादुर गुरुङको पहलमा तयार पारिएको यो गीतिभिडियो केही समयपछि बजारमा ल्याउने तयारी गरिरहेका छन् । जसका कारण यो विधाका बारेमा थाहा नभएकाहरुले पनि थाहा पाउने छन् भन्ने उनलाई विश्वास छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक क्या बात ! रिलिज लुकेका कुरा कीर्तिमान तातोपीरो रुचि प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार उपलब्धि कन्सर्ट हल्ला ट्रयाक बाहिर भिडन्त गीतकार समुद्रपार पेज थ्री अवार्ड
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल