फूटबलरसँग विपासाको रोमान्स !
बलिउडका बालाहरु संसारभर गए पनि विवादसँग नाता जोडेरै आउँछन् ! शिल्पा सेट्टीले सेलिब्रिटी बिग ब्रदरमा पाएको उचाइसँगै भारतीय बालाहरुको भाउ निकै बढेको छ । झन् रिचर्ड गेरले शिल्पालाई च्वाप्प म्वाई नै खाइदिँदा त संसारभर नै हलचल मच्चियो ।
हलचलको अर्को भेल विपाशाले ल्याएकी छिन् । बेलायतबाट प्रकाशन हुने डेली स्टार पत्रिकामा गएको मंगलबार पहिलो पृष्ठमा पोर्चुगालका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो, २२, ले बलिउडिया विपाशा, २८, लाई लिस्बनमा च्वाप्प म्वाई खाइदिएका छन् । संसारका अद्भूत सात चिजहरुको घोषणा कार्यक्रममा उनले यो मौका जुराएका थिए ।
डेली स्टारका अनुसार यो जोडी रात परेपछि एउटा पार्टीमा सँगै देखा परेका थिए । अखबारले त कतिसम्म लेखेको छ भने "बेलेम क्लबमा उनीहरु यति नजिक टाँस्सिएका थिए कि रोनाल्डोकी प्रेमिका ग्ल्यामर मोडल गेम्मा एट्किन्सनले थाहा पाएकी भए दुवै नारीहरुले एकअर्कामाथि हातपात गर्थे होलान् !"
अर्को खबरी ट्याब्लोइड मेट्रोले 'आर यु प्लेइङ अवे, क्रिस्टियानो ?' भन्ने प्रश्न गर्दै यसमा थप पुष्टि गरेको छ । द मिरर र द सन पत्रिकाले पनि माथि छापिएको फोटो छाप्दै मिल्दोजुल्दो समाचार छापेका छन् ।
त्यसो त यो फोटो त्यहाँका कुनै फोटो पत्रकारले चाल पाएर पाएका वा खिचेका भने होइनन् । बेलायतमा बसोबास गरेका एसियाली मूलका कसैले यो फोटो खिचेर अखबारलाई बाँढेको अनुमान गरिएको छ । यता विपाशालाई फोन गरेर समाचारका बारेमा जानकारी लिन खोज्दा उनले भनिन्- "हो, यो फोटोमा देखिएकी तरुनी मै हुँ । कोही फ्यानले निकै राम्रो अवसर पाएका हुन् यो खिच्नलाई । तर क्रिस्टियानोले मलाई चुम्न खोजेकोजस्तो देखिए पनि वास्तविकतामा त्यसो होइन । यहाँ जे जति हल्ला मच्चिरहेको छ, त्यो चाहिँ गैरजिम्मेवार सोचको उपज हो ।"
उनले भनिन् त ठीकै होला ! हामी थोडै त्यहाँ थियौँ र उनका भित्री कुरा जानौँ !
 |