
अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ब्याण्ड द भाइभ्सले "द भाइभ्ज जेनरेशन" एल्बम आउँदो भदौ २२ मा सार्वजनिक गर्ने भएको छ । एल्बमलाई रियाज म्युजिकले बजारीकरण गर्ने भएको छ । ८ वटा गीत रहेका यस एल्बममा टेक्नोदेखि आधुनिक सङ्गीतसम्म अटाएका छन् भने सफ्ट रकदेखि हार्ड रकसम्मले ठाउँ पाएका छन् ।
नेपाल भित्रका लागि यो बिल्कूलै नयाँ ब्याण्ड भए तापनि अमेरिकामा चाहिँ राम्रै नाम बनाइसकेको छ यसले । सन् २००५ मा ब्याण्डको स्थापनायता गएका दुइ वर्षमा अमेरिकाका निकै ठाउँमा यसले आफ्नो खुबी पस्किसकेको छ ।
हालै काठमाडौँ आइपुगेका ब्याण्डका तीन सदस्यमध्ये एक दिरेक श्रेष्ठले आफ्नो मिहिनेतको ताजा स्वाद सङ्गीत पारखीहरुलाई पस्किसकेका छन्, भन्छन्- "एल्बमका यी आठ गीतहरु तपाइँलाई आठ तगडा अभिनेताजस्ता लाग्ने छन् । आठमध्ये तपाइँको सबैभन्दा मनपर्दो एउटा हुन सक्छ तर बाँकीले पनि तपाइँलाई उत्तिकै लोभ्याउने छन् ।"
यसको कारण पनि छ, त्यो के भने, १८ वटा गीत रेकर्ड भएमध्ये पनि सबैभन्दा राम्रालाई यहाँ छानिएको छ । यस ब्याण्डमा दिरेकका अतिरिक्त प्रयिन सिंह (स्वर) र रुपक लामा (गीतारवादक) पनि यस ब्याण्डमा रहेका छन् । यस एल्बमलाई नेपालमा रिलिज गरेपछि यो समूहका दिरेक चाहिँ अग्लिज् ब्याण्डका सुदीप ताम्राकार र रकिङ श्रेष्ठसँग एल्बम प्रमोशन टूरमा निस्कने छन् ।
|