
विभिन्न सांगीतिक कार्यक्रम गरिरहेको नेपालयले पछिल्लो समय किताब प्रकाशनमा हात हालेको थियो । अब भने यसले फूटबलमा हात हालेको छ ।
नेपालको पहिलो ए डिभिजन फूटवल टीम एन आर टी (न्यूरोड टीम) चार हप्ता लामो देशव्यापी खेल भ्रमणमा निस्कने भएको छ । यस यात्राको क्रममा एनआरटीले देशका बिभिन्न आठवटा सहरमा विशेष रुपमा यसैका लागि बनाइएका स्थानीय फूटवल टीमहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछ ।
जनकपुरमा भाद्र २१ जनकपुर ११ सँगको खेलबाट सुरु भएर काकडभिट्टा, इटहरी, कावासोती, महेन्द्रनगर, नेपालगञ्ज, बागलुङ्ग हुँदै असोज ११ गते गोरखामा गएर खेलयात्राको समापन हुने छ ।
"खेलकूद क्षेत्रलाई गतिशील बनाएर आन्तरिक र बाह्य राजनीतिको सिकार भएको खेल जगतलाई उर्जा प्रदान गर्न यो भ्रमणको आयोजना गर्न लागिएको हो," आयोजक संस्था नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठले भने- "केटाकेटी र युवाहरुले बढी भन्दा बढी खेलकूद गतिविधिहरुमा संलग्न हुन पाउनुपर्छ ।"
एनआरटीको मातृसंस्था काठमाण्डौ खेल मण्डल (केकेएम) सँग मिलेर नेपालयले यो खेलयात्राको आयोजना गरेको हो । एन आर टी ले आफ्नो लामो खेल अनुभवबाट प्राप्त गरेको दक्षताको योगदान गर्नेछ भने यात्राको सम्पूर्ण अन्य व्यवस्थापन नेपालयले गर्नेछ ।
"नेपालयसँग सहकार्य गरेर यो खेलयात्रा गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यस किसिमको गतिविधिले खेल क्षेत्रमा, विशेष गरि फूटवलमा गतिशीलता प्रदान गर्नेछ भन्ने मैले आशा लिएको छु," के के एम र एन आर टीका अध्यक्ष नरेन्द्र श्रेष्ठले भने ।
यात्राको क्रममा फूटवल खेलका अतिरिक्त स्थानीय केटाकेटीहरुका लागि फूटवल क्लिनिक र स्थानीय रेफ्रीहरुका लागि कार्यशालाको पनि बन्दोवस्त गरिएको छ ।
एन आर टीका प्रशिक्षकहरु योगम्वर सुवाल र महेश्वर मुल्मी फूटवल क्लिनिकका लागि र फिफा मान्यता प्राप्त रेफ्री श्रीराम रञ्जितकार रेफ्री कार्यशालाका लागि भ्रमण टोलीका साथमा रहनुहुने छ ।
"यो समूहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । हामी खेलभावना, मैत्री र सद्भावका साथ देशका अन्य भागका दाजुभाइहरुसँग खेल्ने छौं," एन आर टी का खेलाडि अनिल गुरुङले भने ।
जनकपुरबाट भाद्र २१ मा सुरु भएर यो खेलयात्रा असोज ११ गते गोरखामा गएर टुङ्गिनेछ । |